चितवन । कमै मानिस हुन्छन् सादगी जीवन जिउने, विचार उच्च लिने अनि कर्मठ जीवनमा समर्मित रहने । चितवनका एक नेता हुन् विष्णुहरि तिवारी, जो जहिल्यै सादगी जीवनमा रमाएँ । कर्मठ कम्युनिष्ट नेता भएर ७० वर्षको जीवन गुजारे ।
उनै कर्मठ कम्युनिष्ट नेतालाई चितवनवासीले गुमाएको छ । देशले गुमाएको छ । जसले विकासबाहेक, सामाजिक कर्मबाहेक अरु केही जीवनमा देखेन । जीवन नै सामाजिक कर्ममा बित्यो । उनै चितवनका पुराना बामपन्थी नेता विष्णुहरि तिवारी अब फेरि सामाजिक कर्ममा फर्कने छैनन् । फेरि सादगी जीवनमा आउने छैनन्, तर उनले सादगी जीवन र सामाजिक कर्ममा छोडेका छाप सबैका मनमा गहिरो गरी रहनेछ ।
भरतपुर महानगरपालिका वडा नं त्रिचोकमा थियो उनको निवास । ७० वर्ष सादगी र कर्मठ कम्युनिष्ट भएर जीवन गुजारे । लामो समयसम्म फोक्सोको क्यान्सरले थलिए र अस्ताए । नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले विष्णुहरी तिवारीको दुःखद निधनको खबरले अत्यन्त मर्माहत भएको बताइन् । उनले भनिन्, ‘कर्मठ सादगी पुराना कम्युनिष्ट नेता गुमाउँदा पार्टीलाई ठूलो क्षति पुगेको छ । उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
तिवारी नेकपा एमाले चितवनका जिल्ला कमिटी सचिवालय सदस्य, जिविस चितवनका पूर्वसदस्य हुन् । तिवारीको दुःखद निधनले नेकपा एमाले चितवन नै स्तब्ध भएको अध्यक्ष रावल बताउँछिन् । शोकलाई शक्तिमा बदल्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । चितवनका एमालेका शीर्ष नेता तथा सांसद कृष्णभक्त पोख्रेलले चितवनको कम्युनिस्ट आन्दोलनका अथक योद्धाको निधनले मर्माहत बनाएको बताए ।
उनले भने, ‘कम्युनिष्ट आन्दोलनको धरोहर थिए, हिजो पञ्चायतकालदेखि जनआन्दोलनसम्म लड्दै आएका कर्मठ नेता थिए । आज उहाँलाई गुमाउँदा सिंगो चितवन नै मर्माहत भएको छ ।’ उनले तिवारीप्रति उच्च सम्मानसहित भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै र शोकाकुल परिवारजनमा गहिरो समवेदना दिएका छन् । नेकपा एमालेका नेता जेएन थपलियाले पनि विष्णु तिवारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै असल कम्युनिष्ट नेता गुमेको भाव प्रकट गरेका छन् ।
तिवारीको चितवनको देवघाटमा तिवारीको अन्त्येष्टि गरिएको छ । चितवन जिल्ला विकास समितिका पूर्वसभापति विष्णु घिमिरेले पार्टीको झन्डा ओढाएर अन्तिम श्रदाञ्जली व्यक्त गरेका थिए । तिवारी दुई कार्यकाल चितवन जिल्ला विकास समितिका सदस्य बनेर चितवनको विकासमा लागेका नेता हुन् । तिवारी पञ्चायतकालमा जनपक्षीय उमेदवारका रुपमा एक कार्यकाल जिल्ला विकास समितिको सदस्य बनेका थिए ।
२००८ साल माघ २१ गते लमजुङको सुन्दरवजार–१० धुसेनी, कोइरालाफाँटमा जन्मेका तिवारीको एक श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

