गलकोट। बागलुङ नगरपालिका–४ लामाचौर, रमेटारका झण्डै एक हजार परिवारलाई खानेपानी पु¥याउने गरी सुरु भएको योजना बजेट अभावका कारण रोकिएको छ । ट्याङ्की निर्माण भएको दुई वर्ष बित्न लाग्दासमेत लिफ्िटङका लागि आवश्यक पाइप, विद्युत्का संरचनाका लागि बजेट अभाव भएको हो ।
पानी जम्मा गर्न तयार पारिएका र वितरणका लागि तयार पारिएका ट्याङ्की प्रयोगविहीन भएका छन् । आर्थिक वर्ष २०७५÷०७६ बाट सुरु भएको योजना क्रमागत योजना हो । चालु आर्थिक वर्षमा यो योजनाका लागि गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले रु ३५ लाख बजेट विनियोजन गरेको थियो तर आयोजनाको बनेका पहिलो चरणका ट्याङ्कीमा पानी पु¥याउन रु एक करोड १५ लाख आवश्यक पर्छ ।
“विनियोजित रकमको काम भइसक्यो, बाँकी काम अगाडि बढाउन बजेट कुरेर बसेका छौँ”, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर ईश्वरीप्रसाद शर्माले भन्नुभयो, “पाइप, विद्युत्, मोटरलगायतका कामका लागि थप रु ७० लाख अपुग हुन्छ ।” रु ११ करोड लागत अनुमान गरिएको योजनामा हालसम्म रु एक करोड ७६ लाख ८८ हजार मात्रै खर्च भएको छ । कालीगण्डकी किनारबाट लिफ्टिङ गरेर रमेटारमा पानी तान्ने योजना हो । सिधा उचाइ २४५ मिटर माथि छ लिटर प्रतिसेकेण्ड पानी तान्ने गरी योजनाको स्टमेट छ । ३२ एचपीको विद्युतीय मोटरले पानी तान्ने योजना छ । पहिलो चरणमा तानेको पानीलाई थप ७५ मिटर माथि पु¥याएर उपभोक्ताको धारामा वितरण गरिने शर्माले बताउनुभयो ।
कालीगण्डकी किनारमा रहेको मुहानमा २०० घनमिटरको ट्याङ्की तयार भएको छ । पहिलो चरणमा पानी सङ्कलनका लागि १०० घनमिटरका दुई ट्याङ्की र त्योभन्दा माथि १०० घनमिटरका दुई र तीस घनमिटरको एक ट्याङ्की निर्माण सम्पन्न भएको उपभोक्ता समितिका सचिव गणेश प्रसाद शर्माले बताउनुभयो ।
“हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ, काम धेरै बाँकी छन्”, शर्माले भन्नुभयोे, “बजेट थोरै थोरै गर्दै आउँदा बनेका संरचना जिर्ण हुने र नयाँ संरचना नबन्ने खतरा भयो ।” “बस्तीको विकास भइरहेको लामाचौर र रमेटार क्षेत्रमा दिनदिनै पानीको आवश्यकता बढ्दै छ”, उपभोक्ता समितिका सहसचिव श्यामप्रसाद शर्माले भन्नुभयो, “आयोजना सुरु हुँदा उपभोक्तामा पलाएको आशा निराशामा परिणत हुँदैछ ।” गाउँ छेउमा रहेका कुवा तथा पँधेरकाको पानीका भरमा रहेका उपभोक्ताले तत्काल आयोजना सम्पन्न गर्न माग गर्दै आएका छन् ।
गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले उक्त आयोजनाको निरीक्षण गर्दै प्रदेशमा उपलब्ध स्रोत साधनको उचित प्रयोग गरेर आयोजना सम्पन्न गरिने आश्वासन दिनुभएको थियो । खानेपानी महाशाखाका प्रमुख प्रेमप्रसाद डोटेलले प्रदेशमा न्यून बजेट भएकै कारण उपभोक्ताको आवश्यकताअनुसारको बजेट दिन नसकेको बताउनुभयो । रासस

