चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिरहँदा पनि यहाँका पालिकाहरुले नियन्त्रणमा खासै प्रभावकारी भूमिका खेल्न सकेका छैनन् । चितवनका सात पालिकाहरुमा यतिबेला कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ, तर यहाँका पालिकाहरुले अझै अक्सिजनसहितको आइसोलेसन तयार पार्न सकिरहेका छैनन् ।
पालिकाहरुले आइसोलेसन बनाउने तयारी गरेको दाबी गरिरहेका छन्, तर आइसोलेसन बनाउन कुनै गृहकार्य सुरू गरेका छैनन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार अस्पतालले धान्न नसक्ने अवस्था सिर्जना भइरहँदा पालिकाहरुले अक्सिजनसहितको आइसोलेसन बनाउन जरूरी छ ।उनले भने, ‘पालिकाहरुबाट आइसोलेसन बनाउन ढिलाइ भइसकेको छ, कोरोनाको सङ्क्रमण बढिरहेको बेला छिटोभन्दा छिटो अक्सिजनसहितको आइसोलेसन बनाउन जरूरी छ ।’ उनका अनुसार चितवनका सातै पालिकाहरुले आइसोलेसन बनाउने त भनेका छन्, तर कामकारबाही अघि बढाएका छैनन् ।
भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ, तर बनाउने गृहकार्य सुरू गरिसकेको छैन । यसअघि पनि वागीश्वरीमा आइसोलेसन सेन्टर बनाइएको थियो ।
भरतपुरको वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थपोस्टको स्थलगत अध्ययन भएको छ । चितवनबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहितको टोलीले स्थलगत अध्ययन गरी वागीश्वरीमा १०० शøयाको र शारदानगर हेल्थपोस्टमा ३० शøयाको आइसोलेसन केन्द्र बनाउने तयारी भइरहेको छ ।
प्रदेशसभा सदस्य सुवेदीले योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थपोस्ट प्रशासनलाई तत्काल आइसोलेसन केन्द्र बनाउन के–कति खर्च लाग्छ योजनासहित पेश गर्न निर्देशन दिइसकेका छन् । उनले भने, ‘आइसोलेसन केन्द्रका लागि भरतपुर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको सहयोग रहनेछ । भरतपुरमा कोरोनाको सङ्क्रमण फैलिएर महामारीको रुपमा फैलिन सक्ने भएकाले पनि आइसोलेसन जरूरी छ ।’
यस्तै, रत्ननगर नगरपालिका प्रमुख नारायण वनले वडा नं १६ को माथिल्लो भवनमा अक्सिजनसहितको आइसोलेसन बनाउने तयारी भएको बताए । उनले भने, ‘हामीले २० बेडको आइसोलेसनको लागि बेड तयार पारिसक्यौँ, स्वास्थ्यकर्मीको टोली खटाउन एउटा समिति बनाएका छौँ । अक्सिजनको माग गरेका छौँ ।’
प्रमुख वनका अनुसार अबको एक/दुई दिनमै सङ्क्रमितलाई राख्न सक्ने गरी काम भइरहेको छ । राप्ती नगरप्रमुख प्रभा बरालले भण्डारा अस्पतालमा आइसोलेसन बनाउने तयारी भइरहेको बताइन् । उनले भनिन् ‘२० बेडको आइसोलेसन बनाउने गरी बेडहरु राखिसकेका छौँ, अक्सिजनको माग गरिरहेका छौँ । केही अक्सिजन पनि आइसकेको छ । केही दिनमै सङ्क्रमितको उपचार गर्न सक्छौँ ।’ यस्तै, माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाले पनि आइसोलेसन बनाउने तयारी गरिरहेका छन् ।इचितवन पोस्टबाट