चितवन । चितवनका तीनवटा अस्पतालमा १९३ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचाररत संक्रमितमध्ये भेन्टिलेटरमा १० जना छन्। यस्तै आइसियूमा ६२ जना र एचडियूमा ३६ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए।
अस्पतालमा उपचाररत संक्रमितमध्ये भरतपुर अस्पतालमा १०० जना, चितवन मेडिकल कलेजमा ५६ जना र पुरानो मेडिकल कलेजमा ३७ जनाको उपचार चलिरहेको उनले बताए। तीमध्ये भरतपुर अस्पतालको आइसियूमा १० जना र एचडियूमा १३ जनाको उपचार भइरहेका छन्। बाँकी ७७ जना जनरल वार्डमा उपचाररत छन्।
चितवन मेडिकल कलेजको भेन्टलेटरमा पनि ८ जनाको उपचार चलिरहेको छ भने आइसियूमा ३७ जना र एचडियूमा ३ जना छन्। बाँकी १९ जनाको भने जनरल वार्डमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यस्तै पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा २ जना, आइसियूमा १५ जना र एचडियूमा २० जनाको उपचार भइरहेको कार्यालय प्रमुख तिवारीले जानकारी दिए।
कार्यालयका अनुसार आइतबार मात्रै चितवनमा ११२ जना नयाँ संक्रमित थपिएका छन्।