चितवन। ‘मेडिकल सिटी’का रुपमा परिचित चितवनले कोरोना महामारीको अहिलेको समयमा २० भन्दा बढी जिल्लाको भार थेग्नु परेको छ । सामान्य अवस्थामा समेत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचार गर्न आउने चितवनले अहिलेको कोरोना महामारीको समयमा पनि यसका सङ्क्रमितको उस्तै भार थेग्नु परेको हो ।
जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, दुईवटा ठूला मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल, एक आँखा अस्पताल र २४ वटा निजी अस्पताल रहेका छन् । ती अस्पतालमा जिल्लासहित छिमेकी जिल्लाका बिरामी नियमित उपचारका लागि आउने गर्दछन् ।
क्यान्सरदेखि आँखा हुँदै विभिन्न रोगका विशेषज्ञ चिकित्सक उपलब्ध हुने हुँदा बाहिरी अर्थात् अन्य जिल्लाबाट उपचारका लागि चितवनलाई रोज्ने गरिन्छ । ठूला अस्पतालहरुमा आधुनिक चिकित्सा विज्ञानका उपकरणहरु पर्याप्त हुँदा सबै खालका उपचारका लागि चितवन सहज हुने गरेको छ ।
सधैँको सहजता मनन गर्दै सङ्क्रमणको समयमा समेत सुविधा पाउने आशामा सोझै यहाँ आउनेहरुको सङ्ख्या निकै ठूलो छ । त्यसो त छिमेकी जिल्लाका साना अस्पतालहरुले गम्भीर बिरामीहरुलाई सोझै यहाँ रिफर गर्ने गरेका छन् । कतिपय उपचारका लागि राजधानी काठमाडौँ जाँदै गरेका बिरामीसमेत यही रोकेर उपचार गर्ने गरिएको छ ।
दुई दिनअघि चितवन मेडिकल कलेजमा पिसिआर परीक्षण गर्दा एकै दिन चितवनसहित २० जिल्लाका बिरामीमा सङ्क्रमण देखिएको थियो । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार केही दिनयता मात्रै जिल्लाका अस्पतालहरुमा २५ जिल्लासम्मका सङ्क्रमित उपचारका लागि आएका छन् ।
उहाँले भन्नुभयो, “पश्चिमको कैलाली, नेपालगञ्ज, सुर्खेत, दाङ, प्यूठान, बुटवल, भैरहवा, नवलपरासी लगायतका जिल्लाका बिरामी उपचारका लागि आएका छन् ।” उहाँले पूर्व मकवानपुर, पर्सा, बारा, रौतहटलगायत जिल्लाबाट पनि बिरामी आउने गरेको जानकारी दिनुभयो । कतिपय त्यहाँका अस्पतालले नै रिफर गरेर पठाएका छन् भने कतिपय सोझै यहाँ आएका छन् ।
लम्सालले थप्नुभयो, “भरतपुर गएपछि उपचार पाइहालिन्छ भनेर आउने सङ्ख्या ठूलो छ ।” अब अस्पतालहरुमा कोभिड नभएकाहरु घट्दै जाने र कोभिड भएकाहरुलाई बढाउँदै लैजानुको विकल्प नभएको उहाँको भनाइ छ ।
समन्वय नगरी सोझै बाहिरका सङ्क्रमित आउँदा व्यवस्थापनमा कठिनाइ हुने गरेको लम्साल बताउनुहुन्छ । अन्य विभागहरु बन्द गर्दै जाँदा त्यहाँको जनशक्तिलाई कोभिडको उपचारमा प्रयोग गर्नुपर्ने भए पनि अझै त्यसो हुन नसकेको उहाँको भनाइ छ ।
कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का निमित्त निर्देशक डा मनोहर प्रधान बाहिरी जिल्लाका बिरामीको चाप बढ्दो रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाहिरी जिल्लाका सङ्क्रमितले श्यया भरिएपछि जिल्लाकालाई कसरी उपचार गर्ने ? समयमै सोच्नुपर्ने अवस्था आएको छ ।” काम गर्ने कर्मचारी र जिल्लाका सङ्क्रमितलाई श्यया छुट्याउन सकेपछि समस्या कम हुने उहाँको सुझाव छ ।
अस्पतालमा समन्वय नै नगरी सोझै सङ्क्रमित आउने र व्यवस्थापन गर्न कठिन हुने गरेको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “शुक्रबार मात्रै साँझ बाहिरबाट एकजना सङ्क्रमित आए, व्यवस्थापन गर्न चार घण्टा लाग्यो ।”
उहाँले थप्नुभयो, “बाहिरका मानिसहरुलाई भरतपुर गएपछि त उपचार भइहाल्छ नि भन्ने छ, तर यहाँ सहज छैन ।” सङ्क्रमित सोझै आउने र तुरुन्त भर्ना गर्न चौतर्फी दबाब हुने गरेको प्रधानले जानकारी दिनुभयो ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी जिल्लाको भन्दा बाहिरी जिल्लाको टेलिफोनको जवाफ दिन कठिन भएको बताउनुहुन्छ । देशभरबाट सङ्क्रमित पठाउन फोन आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाहिरी जिल्लाबाट मलाई आएको टेलिफोन उठाउन पनि सम्भव भएको छैन ।” सकेसम्म स्थानीयस्तरमा सङ्क्रमितको व्यवस्थापन गर्न आफूले अनुरोध गर्दै आएको उहाँको भनाइ छ ।
जिल्लास्थित प्राविधिक समितिका संयोजकसमेत रहनुभएका डा अधिकारी जिल्लामा तत्काल ७५ वटा भेन्टिलेटर, १५० श्यया सघन उपचार कक्ष, ३०० श्ययाको एचडियू र ६०० श्यया साधारण श्यया आवश्यक रहेको बताउनुहुन्छ । जिल्लाका अस्पतालले यहाँका मात्रै नभएर बाहिरी धेरै जिल्लालाई थेग्नु पर्ने भएकाले पूर्णरुपमा तयारी गर्नुपर्ने उहाँको भनाइ छ ।
आफूले जिल्ला एउटा कल सेन्टर बनाएर कुन अस्पतालमा श्यया खाली छ भन्ने बारेमा जानकारी दिने व्यवस्था गर्नुपर्ने सुझाव अघि सारेको उहाँले बताउनुभयो । त्यसैगरी, सङ्क्रमण देखिएका बिरामीको रिपोर्ट पठाउँदा उसले सम्पर्क गर्ने एकजना चिकित्सकको नम्बरसमेत पठाउनका लागि तयारी थालिएको बताउनुभयो । बिरामीको शरीरमा अक्सिजनको मात्रा राम्रो भए पनि फोक्सोमा भने धेरै असर देखिने गरेको भन्दै उहाँले अन्य समस्या भएमा तत्काल चिकित्सकको सम्पर्कमा आउन पनि सुझाव दिनुभयो ।
देशैभरिबाट क्यान्सर उपचारका लागि आउने विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले समेत छुट्टै कोभिड वार्ड तयार गर्दैछ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार तत्काल १५ श्ययाको कोभिड उपचारका लागि श्यया तयार गरिँदै छ । क्यान्सर उपचार गर्न आउने बिरामीमा सङ्क्रमण देखिएमा राख्ने गरी अस्पततालले व्यवस्थाा गर्न लागेको हो ।
गौतमका अनुसार सोही ठाउँमा बिरामीको चाप बढेमा पाँच श्यया थप गर्न सकिने छ । यहाँ नेपालका सबैजसो ठाउँका साथै भारतीय सीमा क्षेत्रबाट समेत बिरामी आउने गर्दछन् । बाहिरका बढी बिरामी आउने भएकाले जोखिम उच्च रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी समन्वयविना नै बिरामी नपठाउन छिमेकी जिल्लाहरुलाई अनुरोध गरिएको बताउनुहुन्छ । बिरामीको चाप बढ्दै गएकाले यहाँका अस्पतालहरुले श्यया बढाउँदै लैजानुपर्ने उहाँको भनाइ छ । जिल्लामा दैनिक दैनिक १५० हाराहारी सङ्क्रमित थपिँदै गएको भन्दै उहाँले यी सङ्क्रमित र बाहिरबाट आउने दुवैको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी यहाँका अस्पतालहरुलाई रहेको छ ।
बाहिरी जिल्लाका बिरामी बढेपछि जिल्लाले ती जिल्लाहरुमा समन्वय विना बिरामी नपठाउन अनुरोध गर्दै आएको छ । प्रजिअ प्रेमलाल लामिछानेका अनुसार आज यहाँका अस्पतालहरुमा भर्ना भएका १७२ जना सङ्क्रमितमध्ये ७५ जना मात्रै चितवनका हुन् । अन्य सबै बाहिरी जिल्लाका भएको उहाँको भनाइ छ । यस विषयमा आफूले केन्द्रमा पनि जानकारी गराएको उहाँले बताउनुभयो । सामान्य सङ्क्रमितलाई सम्बन्धित ठाउँमा नै व्यवस्थापन गर्न प्रजिअलाई अनुरोध गरिएको लामिछानेको भनाइ छ ।
जिल्लामा दैनिक सङ्क्रमण बढ्दै गएपछि शुक्रबारदेखि निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञालाई कडाइ गर्दै लगिएको भन्दै उहाँले अस्पतालहरुलाई आवश्यक थप तयारीका लागि अनुरोध गरिएको बताउनुभयो । छिमेकी जिल्लाका बिरामीले अस्पताल भरिँदा यहाँका बिरामीलाई कसरी उपचार गर्ने भन्ने चिन्ता थपिएको लामिछाने बताउनुहुन्छ ।
जिल्लाका सबै पालिकामा आइसोलेशन निर्माण गरेर सामान्य अवस्था भएका सङ्क्रमितलाई त्यही उपचार गर्न अनुरोध गरिएको छ । अस्पतालमा जटिल सङ्क्रमितलाई मात्रै उपचार गर्ने गरी व्यवस्थापन गर्न लागिएको छ । बाहिरबाट विना जानकारी आएर घरगाउँमा बस्नेहरुलाई निगरानी बढाउन पालिकाहरुमार्फत टोलहरुमा अनुरोध गरिएको छ ।
देशकै मध्यभागमा रहेकाले विभिन्न कारणबाट कोभिडको सङ्ख्या यहाँ दैनिक बढ्दै गएको हो । बाहिरबाट अन्य बिरामीहरु आउँदा रोगसँगै कोभिडसमेत लिएर आउने गरेको, उद्योग कलकारखानामा भारतदेखिका मजदूरहरु सोझै आउने गरेका, पछिल्ला दिनहरुमा विवाह, व्रतबन्ध, पूजाआजा, ¥याली, जुलुस, भेला जमघट जस्ता कार्यक्रमहरुले पनि सङ्क्रमण बढाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीको भनाइ छ । अव्यवस्थित बजार, सावधानीको कमी, यातायातको सहजता जस्ता कारणले पनि सङ्क्रमण बढाएको उहाँको बुझाइ छ ।
राजधानीबाट फर्किएकाहरु गाउँगाउँ पुग्दा पनि सङ्क्रमण फैलिएको छ । जिल्लामा हालसम्म सात हजार ९६४ जनामा सङ्क्रमण भएको छ । जसमध्ये ७५ जना अस्पतालमा र ९१३ जना होम आइसोलेशनमा छन् । निको भएर घर फर्किने ६ हजार ८५९ जना छन् । कोभिडका कारण हालसम्म जिल्लाका ११७ जनाको मृत्यु भएको छ ।
जिल्लामा कोभिड उपचारका लागि ४०५ श्यया छुट्याइएको छ । भरतपुर अस्पतालमा १० सघन उपचार कक्ष, २५ वटा एचडियु र ७५ वटा साधारण श्यया रहेका छन् । चितवन मेडिकल कलेजमा ११३ छुट्याइएको छ । जसमध्ये क्रिटिकल कियर ४६, सघन उपचार कक्ष ३३, एचडियु नौ र कोभिड श्यया २५ रहेका छन् । कलेज अफ मेडिकल कलेजमा छुट्याइएका एक सयमध्ये सघन उपचार कक्षमा १६, बाल सघन उपचार कक्षमा ६ र एचडियु ७८ वटा रहेका छन् ।
हाल अस्पतालहरुमा रहेका बिरामीमध्ये ५४ जना सघन उपचार कक्षमा छन् । तीमध्ये नौजना भेन्टिलेटरमा रहेको तिवारीले जानकारी दिनुभयो । यसैगरी, ४९ एचडियुमा र ६८ जना साधारण श्ययामा उपचाररत छन् ।
अस्पतालहरुले अन्य जिल्लाबाट आउने र जिल्लामा बढ्दो सङ्क्रमणको दर हेर्दा केही दिनमै कोभिडका लागि छुट्याइएका श्यया भरिने जनाएका छन् । सङ्क्रमण निरन्तर उकालो लाग्दा जिल्लाका बिरामीहरुले उपचार पाउन कठिन हुने देखिएको छ । समयमै व्यवस्थापन गर्न नसक्ने हो भने स्थिति जटिल रहेको चिकित्सकहरुको भनाइ छ । रासस