चितवन । नेकपा एमालेको १० औँ महाधिवेसनअन्तर्गत मंगलबारबाट सुरु भएको चितवनको पालिका अधिवेसनमा विवादहरु भएका छन् । विवाद समाधान गर्नको लागि चितवनका शीर्ष नेताहरुले दौडधुप गरिरहेका छन् ।
मंगलबार विवादका बीच खैरहनी नगर कमिटी घोषणा गरिए पछि नेताहरु यसलाई मिलाउन लागिरहेका छन् । एमाले चितवनकी अध्यक्ष पार्वती रावलले पालिका अधिवेसनमा केही ठाउँमा विवादहरु भएका र यसलाई मिलाउन जिल्लाका शीर्ष नेताहरु लागिरहेको बताइन् । उनले भनिन्, ‘हामीले वडामा जसरी पालिकामा पनि सर्वसम्मत कमिटी निर्माण गर्न खोजिरहेका छौँ, यसको लागि केही समय लाग्छ । यसको लागि हामी लागिरहेका छौँ ।’ एमाले जिल्ला कमिटी नै पालिका अधिवेसनमा भएका विवादहरु मिलाउन लागिरहेको स्रोतको भनाइ छ ।
अन्य पालिकाको तुलनामा खैरहनीको विवाद समाधानका लागि शीर्ष नेताहरु छलफलमा जुटिरहेका छन् । खैरहनीमा समानान्तर कमिटी नै गठन भइसकेको छ । एमालेभित्र विगतमा माधवकुमार नेपाल निकट मानिएका उम्मेदवारलाई वास्तै नगरी ओली पक्षले एकलौटी रूपमा नगर कमिटी घोषणा गरेपछि खैरहनीको विवाद उत्कर्षमा पुगेको हो ।
एमालेले विवाद समाधान गर्नको लागि चितवनका अन्य पालिकाको अधिवेशन आज बुधबारसम्मका लागि स्थगित गरिएको छ। कमिटीको नेतृत्व चयन गर्ने विषयमा विवाद देखिएको ठाउँमा सहमतिको प्रयास जारी रहेको र छिटै विवाद समाधान हुने नेकपा एमाले चितवनकी अध्यक्ष रावलले बताइन् ।
खैरहनीमा असन्तुष्ट पक्षले समानान्तर नगर कमिटी घोषणा गरेका छन् । अन्य चार पालिकामा समानान्तर कमिटी बनेको छ छैन, तर सर्वसम्मत नेतृत्वमा विवाद कायमै छ । रत्ननगर नगरपालिका नगर कमिटीमा सहमति जुट्न नसकेपछि आज बुधबार सम्मको लागि अधिवेशन स्थागित गरिएको छ । रत्ननगरको विवाद मिलाउन चितवनका एमाले शीर्ष नेताहरु लागिरहेका छन् । रत्ननगरको अध्यक्षमा ईश्वरीप्रसाद अर्याल र प्रताप डल्लाकोटी, उपाध्यक्षमा लोकराज भुषाल, अशोक दराई, सीताराम पोखरेल र पुष्प जोशी, सचिवमा शिवराज सुवेदी र किशोर खनाल, उपसचिवमा सागर मिश्र, अमित गुप्ता, अर्पणा तिवारीलगायत आठ जनाको उम्मेदवारी परेको छ ।
राप्ती नगरपालिकामा पनि सहमति नजुटेपछि अधिवेशन बुधबारसम्मको लागि स्थगित भएको छ । त्यहाँ पनि सर्वसम्मत नेतृत्वसहित अन्य पदाधिकारी ल्याउन नेताहरु दौडधुप गरिरहेका छन् । माडीमा नगरकमिटीको अध्यक्षमा चार जना उम्मेदवार उठेपछि आज बुधबार सहमतिको प्रयास गरिँदै छ ।
माडी नगर कमिटीको अध्यक्षमा वर्तमान नगरकमिटी अध्यक्ष रेशम आचार्य, नारायण अधिकारी, रामेश्वर चौधरी र श्रीप्रसाद दवाडीले इच्छा देखाएका छन् । कालिका नगरपालिकामा पनि सहमति जुटेको छैन । नेतृत्वका लागि स्थानीय सहजीकरण कार्यदलले गरेको प्रयास सफल नभएपछि जिल्लाका शीर्ष नेताहरु नै लागिपरेका छन् ।

