चितवन । चितवनको भरतपुर महानगरपालिकाले २८ वटा संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने २३९ जनालाई छात्रवृत्ति सिफारिस गरेको छ । आज भरतपुर महानगरले छात्रवृत्ति पाएका २३९ जनालाई छात्रवृत्ति सिफारिस पत्र प्रदान गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले २८ संस्थागत विद्यालयमा २३९ जनालाई छात्रवृत्ति सिफारिस पत्र प्रदान गरेकी हुन् । छात्रवृत्ति सिफारिस पत्र वितरण कार्यक्रममा महानगर प्रमुख दाहालले विपन्न, दलित, जनजाति, द्वन्द्वपीडितलगायतलाई छात्रवृत्तिको लागि छनौट गरी सिफारिस पत्र वितरण गरेको बताइन् ।
भरतपुर महानगरका नगर शिक्षा अधिकारी प्रमुख महेन्दप्रसाद पौडेलका अनुसार अरोमा कलेजमा सबैभन्दा बढी ४५ जना विद्यार्थीलाई छात्रवृत्ति सिफारिस गरिएको छ । महानगरपालिकाको छात्रवृत्ति व्यवस्थापन कार्यविधि (संशोधन)सहित २०७५ बमोजिम छात्रवृत्ति व्यवस्थापन समितिको असोज १९ गतेको निर्णयअनुसार शैक्षिक सत्र २०७८ मा कक्षा ११ मा भर्ना शुल्क र मासिक शुल्क शत्प्रतिशत निःशुल्क हुने गरी छात्रवृत्ति कोटामा अध्ययनको लागि सिफारिस गरिएको नगर शिक्षा अधिकारी पौडेलले जानकारी दिए ।