चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनमा असोज महिनामा १ हजार ३८८ जनाले नयांँ नागरिकता लिएका छन् । कार्यालयको तथ्यांक अनुसार १ हजार ३८७ वटा वंशज नागरिकता जारी भएको छ भने एउटा नागरिकता वैवाहिक अंगीकृत नागरिकता जारी भएको छ । यस्तै ८१९ जनाले प्रतिलिपि नागरिकता लिएका छन् भने तीन जनाले नागरिकता परित्याग गरेका छन् । तथ्यांक अनुसार नयांँ नागरिकता लिनेको संख्या भन्दा झण्डै नयांँ नागरिकता लिनेको हाराहारीमा प्रतिलिपि नागरिकता लिनेको संख्या छ ।
कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले कोरोना कहर मत्थर भएसंँगै नयांँ नागरिकता लिनेको संख्यामा बृद्धि भएको बताए । ‘नागरिकता लिनेको संख्या पनि बढेको छ । अन्य सेवाग्राहीको संख्या पनि बढ्दै गएको छ ।’ उनले भने । प्रतिकायम, बसाईसराई र हराएका नागरिकता कारण प्रतिलिपि नागरिकताको संख्या पनि बढेको उनको भनाई छ ।
कार्यालयका अनुसार चालु आवको तीन महिनामा कुल वंशज नागरिकता ३ हजार ६५१ नयांँ बंशज नागरिकता वितरण भएको थियो भने सो अवधिमा पांँचवटा अंगीकृत नागरिकता जारी भएका छन् । यस्तै तीन महिनामा २ हजार ८८७ जनाले प्रतिलिपि नागरिकता लिएको तथ्यांक छ । असोज महिनामा नागरिकता रद्ध भएको तथ्यांक नभएपनि तीन महिनाको अवधिमा २ जनाको नागरिकता रद्ध भएको छ ।असोज महिनामा नाबालक परिचयपत्र ४५ र तीन महिनाको अवधिमा १४५ वटा नाबालिक परिचय पत्र वितरण भएको पौडेलले जानकारी दिए । यस्तै कार्यालयले असोज महिनामा १ हजार ३७५ जनाको राष्ट्रिय परिचय पत्र विवरण संकलन गरेको छ । तीन महिनामा ४ हजार १९६ वटा नागरिकता संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
सत्रसय राहदानी सिफारिश , ६१८ वटा वितरण
कार्यालयले चालु आवको असोज महिनामा सत्र सयभन्दा बढी राहदानी सिफारीश गरेको छ ।सोही महिनामा कुल १ हजार ७१७ वटा राहदानी सिफारीश गरिएको मध्ये १ हजार ६५८ वटा साधारण राहदानी सिफारीश भएका छन भने ५९ वटा राहदानी द्रुत सिफारीश भएका छन । कार्यालयले जम्मा ६सय १८ वटा राहदानी वितरण गरेको छ ।
कार्यालयका अनुसार चालु आवको तीन महिनामा ४ हजार ६५९ वटा राहदानी सिफारीश गरिएको मध्ये ४हजार २४१ साधारण सिफारीश र ४१८ द्रुत राहदानी सिफारीश भएका थिए । यसका लागि तीन महिनाको अवधिमा कार्यालयले २ हजार ४५१ राहदानी वितरण गरेको छ ।
कार्यालयले राहदानी शुल्कबाट असोज महिनामा ६७ लाख ६२ हजार पांँचसय रुपैंया र तीन महिनाको अवधिमा राहदानी वापतको शुल्कबाट १ करोड ६७ लाख ९४ हजार २१० रुपैंया संकलन गरेको छ ।
सूचना अधिकारी पौडलले बाह्य हवाई उडान सञ्चालन भएसंँगै राहदानी सिफारीशको संख्या पनि बढ्दै गएको बताए । यस्तै तीन महिनाको अवधिमा अन्य सेवा शुल्कबाट ५१हजार २०० रुपैंया संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

