पोखरा । पोखरा महानगरमा लेखा प्रमुख र वरिष्ठ कानुन अधिकृतबीच टकराव भएको छ । ३ कात्तिकमा प्रमुख प्रशासकीय अधिकृत महेश बरालको कार्यकक्षमा दुवैजनाबीच भनाभन भएको थियो । उक्त घटनाले कानुनी बाटो खोजेको छ । दुवैजनाले महानगरमा निवेदन दिएर दोषीमाथि कारबाहीको माग गरेका छन् ।
लेखा प्रमुख जयराम पौडेल र कानुन अधिकृत नारायण शर्माले आफूलाई सुरक्षा चुनौती बढेको गुनासोसहित निवेदन दिएका हुन् । ‘दुवै पक्षले निवेदन दिनुभएको छ । यसबारे कार्यवहाक मेयरसँग बसेर कुरा गर्नै बाँकी छ,’ महानगरका सूचना अधिकारी भरतराज पौडेलले न्युज कारखानासँग भने, ‘घटना धेरै अघि बढिसक्यो । महानगरमा भएको कुरा भित्रै मिलाउनुपर्ने हो । हामी त्यही गर्दै छौं ।’
लेखाप्रमुख पौडेलले आफूलाई ज्यानमार्ने धम्की आएको आरोपमा शर्मालाई निलम्बनको माग गरेका छन् । ‘कर्मचारीलाई सिध्याइदिन्छु भन्दै धम्की दिने कार्यको घोर भर्त्सना गर्दै तत्कालै दोषीलाई कारबाही नगरे पोखरा महानगरपालिकाका सम्पूर्ण आर्थिक कारोबार बन्द गर्ने छौं,’ उनले बुझाएको पत्रमा भनिएको छ ।
दोषीलाई कारबाही माग गर्दै आर्थिक प्रशासन तर्फका १२ कर्मचारीले हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएका हुन् । कानुन व्यवसायी कमलप्रसाद अर्याललाई भुक्तानी दिइएको विषयमा छलफल हुँदा शर्माले मर्यादा विपरित विषय उठाएको आरोप पौडेलको छ ।
महालेखा परीक्षकले पनि अर्याललाई दिइएको भुक्तानी बेरुजु लेखेको छ । पौडेलले निरन्तर बेरुजु आएपछि भुक्तानी दिन गाह्रो पर्ने बताएका थिए । पाँच लाख सात हजार महालेखा परीक्षकको कार्यालयबाट असुल गर्नुपर्ने बेरुजु औंल्याइएको र चालु आर्थिक वर्ष पनि सोही प्रकृतिको भुक्तानीको माग आएकोले त्यसबारे छलफल भएको थियो ।
‘सुरुमा नारायण सरको गल्ती छ । भनाभन हुन थालेपछि दुवै पक्षले मुखमा आएको बोल्नुभएको हो,’ एक कर्मचारीले भने, ‘उपमेयरज्युले यो विषयमा टुंगो लगाउनुपर्छ । नत्र यसले ठूलो रूप लिन सक्छ ।’
पौडेलले यसअघि घाट ठेक्काको मुद्दासमेत बाहिर ल्याएका थिए । महानगरभित्रकै कर्मचारीको सेटिङमा ठेक्का दिने र महानगरलाई नोक्सानी बढेको एकाथरी कर्मचारीको आरोप छ । ‘मन माझिएको हिसावले लिएको थिएँ । घटना अलिमाथि पुगिसकेछ’, महेश बरालले भने, ‘घरभित्रको कुरा मिलिहाल्छ । सकेसम्म आजै बस्छौं ।’ यस विषयमा बुझ्न खोज्दा शर्मा भने सम्पर्कमा छैनन् । पौडेलले जिल्ला प्रहरी र जिल्ला प्रशासनमा समेत मौखिक जानकारी गराएका छन् । न्युज कारखाना

