चितवन । चालु आर्थिक बर्ष ०७८–०७९ को तीन महिनामा ट्राफिक प्रहरी कार्यालय, चितवनले ८ हजार ४६७ वटा सवारी साधन कारवाहीमा परेका छन् । जसबाट कार्यालयले ७६ लाख ७७ हजार पांँचसय रुपैयाँ संकलन गरेको छ । कार्यालयका अनुसार श्रावण महिनामा सबै सवारीसाधनबाट २५ लाख ७३ हजार पांँच सय रुपैयांँ राजश्व संकलन गरेको छ । यस्तै भदौ महिनामा २३ लाख ७८ हजार रुपैयाँ र असोज महिनामा २७ लाख २६ हजार रुपैयाँ संकलन गरेको छ । यसैगरी श्रावण महिनामा २ हजार ७५७ वटा सवारी साधन, भदौमा २ हजार ६८७ वटा र असोज महिनामा ३ हजार २३ वटा सवारी साधन कारवाहीमा परेका थिए । तीन महिना मध्ये भदौ महिनामा कम राजश्व संकलन भएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार भदौमा निशेधाज्ञाका कारण बैंकहरु बन्द तथा आंशिक रुपमा खुलेकाले राजश्व संकलनमा कमी आएको हो । ‘ सवारीधनीले रसिद काटेपनि बैंकहरुमा गएर त्यो महिना भुक्तानी गर्न पाएनन’ थापाले भने ।
सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल
चालु आवको तीन महिनामा सबै भन्दा बढी कारबाहीमा मोटरसाइकल परेका छन् बढी राजश्व संकलन पनि मोटरसाइकलबाट संकलन भएको छ । जसअनुसार सो अवधिमा कार्यालयले २हजार ३५४ वटा मोटरसाइकललाई कारवाही गरेको छ । यसबाट कार्यालयले १९ लाख ८१ हजार रुपैया राजश्व संकलन गरेको थियो । यस्तै सो अवधिमा सबैभन्दा कम ४२६ वटा ट्रेक्टर कारवाहीमा परेका छन् । जसबाट कार्यालयले ३ लाख ९३ हजार रुपैंया राजश्व संकलन भएको छ ।
कार्यालयका अनुसार तीन महिनामा १ हजार ६५० वटा ट्रक ट्रिपर कारवाहीबाट १६ लाख ९६ हजार पांँचसय रुपैंयाँ, एकजार ३० वटा बस÷ माईक्रो कारबाहीबाट ९ लाख ३७ हजार पाँचसय, एक हजार ९८६ कार जीप कारबाहीबाट १८ लाख ७९ हजार पांँचसय र टेम्पो र अन्यगरी एक हजार २१ सवारीसाधन कारवाहीबाट ७ लाख ९० हजार रुपैंयाँ राजश्व संकलन भएको छ ।
कार्यालय प्रमुख थापाले जिल्लामा मोटरसाइकलको संख्या बढी र लापरवाही पनि मोटरसाइकलै हुने भएकोले कारवाहीसंँगै राजश्व पनि मोटरसाइकलकै बढी भएको बताए । ‘मोटरसाइकलको संख्या पनि बढी छ, मापसे र लापरवाही पनि यसैको बढी छ ।’ थापाले भने । दुर्घटना र लापरवाही बढेपछि वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मापसे गरेका र अनुमतिपत्र नभएका चालकहरुका लागि भदौबाट अनिवार्य ट्राफिक सचेतना कक्षाको व्यवस्था गर्दै आएको उनले जानकारी दिए ।

