चितवन । दैनिक रुपमा कोरोना संक्रमणमा बृद्धि हुंँदा पनि चितवनका नागरिकमा सचेतना नभएको पाईएको छ । चितवन प्रशासनले निषेधाज्ञा गरेपनि अवज्ञा गर्नेको संख्या पनि उत्तिकै छ । चितवनमा निशेषधाज्ञाको पहिलो दिने अवज्ञा गर्दै हिडेपछि प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेर छाडेको छ । आज दिनभर प्रहरीले त्यस्ता अवज्ञा गर्ने व्यक्ति तथा सवारी साधनलाई न्यूनतम दुई घण्टा होल्डमा राखिएको जानकारी दिएको छ ।
चितवन प्रशासनले अत्यावश्यक सेवा क्षेत्रको लागि अवरोध नगरेपनि काम विनानै घरबाट निस्कने २ हजार ८सय ११ जनालाई कारवाही गरेको हो । यी मध्ये १७२८ पुरुष छन भने १०८३ जना महिला रहेका छन । यस्तै कारवाहीमा ७०० वटा दुई पांँग्रे र ४४७ चारपांँग्रे सवारी साधन परेका छन ।
जिल्लाका विभिन्न ठाउंँबाट त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिई होल्डिङ्ग सेन्टरमा राखेर सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय,चितवका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।
‘चेकिङ्गका क्रममा पुलचोक, शहिदचोक, चौविसकोठी , पूर्वी चितवन , गीतानगर लगायतका ठाउंँबाट उनीहरुलाई नियन्त्रणमा लिएका हौं , अधिकारीले भने, उनीहरुलाई करीब दुई घण्टा होल्डमा राखेर सम्झाई बुझाई छाडिएको छ । ’ कोरोना स्वास्थ्य सुरक्षा मापदण्डमा नागरिक अझै सचेत र अटेर गरेपछि आगामी दिनमा प्रहरीले थप कडाई गर्दै लैजाने अधिकारीले बताए ।