चितवन । चितवनमा सवारी दुर्घटनाका श्रृंखलाहरु बढिरहेकै छन् । दुर्घटनामा मृत्यु हुनेक्रम पनि बढिरहेकै छ । चालु आर्थिक वर्ष ०७८÷०७९ तीन महिनामा सवारी दुर्घटनाबाट ३८ जनाको मृत्यु भएको छ भने २१७ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सवारी दुर्घटनाबाट सबैभन्दा बढी असोज महिनामा २० जनाको मृत्यु भएको छ ।
यस्तै साउन महिनामा ११ जना र भाद्र महिनामा ७ जनाको मृत्यु भएको छ । यस्तै साउन महिनामा सवारी दुर्घटनाबाट ७५ जना, भाद्र महिनामा ७३ जना र असोज महिनामा ६९ जना घाइते भएका थिए । कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले असोज महिनामा चाडपर्व परेको र अत्यधिक सवारीको चाप हुंँदा बढी लापरवाही देखिएकोले दुर्घटनासंँगै मानवीय क्षति बढी भएको बताए । ‘चाडपर्वमा स्थानीय रुटदेखि लामोदुरीका यातायातको चाप पनि बढ्छ, उनले भने, ‘चालकले तीब्र गति सवारी चलाएको र मापसे गरेको पनि पाइयो ।’

जिल्लामा हुने सडक दुर्घटना मध्ये सबै भन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको पाइएको छ । तीन महिनामा भित्री सडकमा ६१ वटा सडक दुर्घटना भएका थिए । उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने ६१ जना घाइते भएका थिए । यस्तै उक्त अवधिमा दोस्रो सबै भन्दा बढी पूर्व पश्चिम लोकमार्गमा ३२ वटा सडक दुर्घटना भएका छन । जसमा १२ जनाको मृत्यु भएको थियो भने ६३ जना घाइते भएका थिए ।
कार्यालयका अनुसार तीन महिनामा नारायणगढ मुग्लिन सडकखण्डमा २८ वटा सडक दुर्घटना भएका छन । उक्त दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका छन् । यस्तै पृथ्वीराजमार्गमा ६ वटा दुर्घटना भएकोमा ४ जनाको मृत्यु ८ जना घाइते भएका छन् र जिल्लाको शहरीखण्डका सडकमा ९ वटा सवारी दुर्घटना भएकोमा ११ जना घाइते भएका छन् । सो अवधिमा कसैको मृत्यु भएको छैन । चालु आवको साउनदेखि असोजसम्म तीन महिनामा कुल १३६ वटा सवारी दुर्घटना भएका थिए ।
भित्री तथा ग्रामीण सडकमा ट्राफिक प्रहरीको पहुंँच पनि नपुग्ने र गल्ली तथा त्यस्ता सडकमा चालकले जथाभावी सवारी साधन चलाउने गरेका कारण मुख्य सडकहरुमा भन्दा बढी भित्री सडकमा दुर्घटना बढी हुने गरेको कार्यालय प्रमुख थापाको भनाइ छ । ‘शहरी इलाकामा ट्राफिक प्रहरीको पहुंँच पनि हुन्छ । निगरानी पनि बढी हुन्छ । चालक पनि सचेत हुन्छन, उनले भने, ‘अर्को कुरा यहांँ सवारी साधनको तुलनामा हाम्रो जनशक्ति अत्यन्त न्यून छ ।’ दुर्घटना बढेपछि चितवन ट्राफिकले हालैका दिनहरुमा चेकपोइन्ट, युनिट, जोखिमका क्षेत्रहरुमा २४ सै घण्टा नियमित चेकजांँचसँगै ट्राफिक सचेतनाका कार्यक्रम गरिरहेको थापाले जानकारी दिए ।

