चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका थुनुवाहरुको आज स्वास्थ्य जाँच गरिएको छ । एक महिला सहित २१ जनाको स्वास्थ्य जाँच भएको हो । स्वास्थ्य जाँच भएका मध्ये धेरैमा उच्च रक्तचापको समस्या देखिएको प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले बताए ।
कार्यालयले आवश्यक्ता अनुसार हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य जाँच गर्दै आएको प्रहरीले जनाएको छ । भरतपुर अस्पतालको सहयोगमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । अस्पताल र खटिएका चिकित्सकहरुलाई प्रहरी कार्यालयले बिशेष धन्यवाद दिएको छ ।

