गैँडाकोट । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोटको धानबालीमा क्षति पुगेको छ । थन्काउने समयमा आएको बेमौसमी झरीले धान बाली खेतमै डुबाएको छ । दसैं सकिएसँगै धान भित्र्याउन तयारी गरिरहेका किसान खेतमै डुबाएको धानबाली हेरेर बस्न विवस भएका छन् ।
काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेको छ ।
खेतमा धान डुबेपछि गैँडाकोट ८ का डिलबहादुर सिङ्जालीलाई पर्नु पिर परेको छ । वर्षभरि खाएर पनि केही धान बिक्री गर्दै आएका उनलाई यस वर्ष खाने धान पनि नहुने पीरले सताएको छ । त्यस्तै गैँडाकोटका डिलकुमारी सुवेदीको पनि दुई कठ्ठामा लगाएको धान पानीले भिजेको छ । बर्खामा डुबान र कटानको समस्या झेल्दै आएका सुवेदीलाई बेमौसमी वर्षाले धान खेतीको लगानी समेत नउठ्ने चिन्ता थपेको छ ।
गैँडाकोटका राधा अचार्य पाकेर थन्काउन ठिक्क भएको धानलाई पानीले बिगारेपछि निकै निराश देखिन्छिन् । उनलाई गाई वस्तुको लागि पराल पनि नहुने भयो भन्ने चिन्ता सताएको छ । उनले भनिन्, ‘यस पटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो।’ पानीले खेतबारीका धानसँगै अन्य बाली तरकारीसमेत क्षति पुर्याएको छ ।
गैँडाकोटमा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पुर्याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको गैँडाकोट नगरपालिकाका कृषि अधिकृत राजुप्रसाद शर्माले बताए । उनका अनुसार गैँडाकोट नगरपालिका भित्र करिब ४–५ हेक्टर धान थन्काइसकेको र अनुमानित २ सय हेक्टर थन्क्याउन बाँकी रहेको छ । उनले साढे १ हेक्टर काटिसकेको धान पानीले नष्ट पारेको बताए । उनका अनुसार करिब ३ हेक्टर जति काट्न बाँकी रहेको धानका बोट लडेर पानीमा डुबेका छन् । गैँडाकोट नगरपालिकामा किसानहरुले सावित्री, सावा र बहुमुखी जस्ता प्रजातिका धान लगाइएको थियो ।

