सप्तरी । सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सप्तरीको खड नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुवै मोटरसाइकलमा सवार एक/एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल सवार झापाको शिव सतासी नगरपालिका–६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाइकल सवार झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २१ का दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
रासस

