सुर्खेत । कर्णाली प्रदेशको मुख्यालय सुर्खेत वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन् । भूगोल जोडिएको छ । मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक जीवनशैली र रहनसहनमा त्यति धेरै ठूलो फरक छ जस्तो लाग्दैन, तर कथा भने भिन्न छ ।
सतही तवरले हेर्दा सामान्य लागे पनि वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका नागरिकहरुको सामाजिक, साँस्कृतिक, आर्थिक अवस्था निकै फरक छ । उक्त गाउँपालिकाको वडा नं ६ इखेनी गाउँको कथा अझ बढी कारुणिक छ । त्यसमा बालबालिकाको जीवन कथा झनै पीडादायक छ । इखेनीको दृश्य र समस्याले मनकारीहरुलाई आकर्षण गरे पनि त्यसले राज्यको ध्यान अझै खिच्न सकेको छैन ।
वीरेन्द्रनगरमा चिल्ला सडक, कंक्रिट र सिमेन्टले बनेका पक्की घर, शैक्षिक तथा आर्थिक रुपले सम्पन्न नागरिक जीवनशैली छ तर त्यसैसँग जोडिएको बराहतालमा रहेको इखेनी गाउँ आज पनि बत्तीमुनिको अँध्यारो जस्तै छ । खरकै छाना भएका माटोका घर छन् । त्यहाँका नागरिकहरुले आफ्नै ठाउँमा ज्यालादारी काम गर्न नपाएर भारतीय भूमिमा अपमानित भएर मजदुरी गर्न विवश छन् ।
तत्कालीन् विद्रोही नेकपा माओवादीले सशस्त्र युद्धका बेला विसं २०६० मा इखेनीमा दलित बस्ती बसालेका थिए । हाल ९३ घरधुरी रहेको उक्त बस्तीमा ४६५ जनसङ्ख्या छ । उक्त गाउँमा सुनार, परियार, वादीलगायतका दलित जाति बस्छन् तर उनीहरुको हातमा जग्गाधनी पूर्जा छैन । गाउँमा प्रायःअभिभावकहरु बस्दैनन् । उनीहरु एकसरो कपडा फेर्न र केही कमाउन बर्सेनी कालापहाड (भारत) धाउने गर्दछन् । कालापहाड जानु उनीहरुको दिनचर्या जस्तै छ ।
अझ चाखलाग्दो कुरा त के छ भने बाबाहरु त कालापहाड जान्थे नै, आमाहरु समेत कामका लागि कालपहाड नै जाने गरेको इखेनी जनजागरण आधारभूत विद्यालयका प्रधानाध्यापक पुष्पा रानाले जानकारी दिनुभयो । “उनीहरु नियमित घर बस्दैनन् । बाबाआमा नै घरमा नबस्ने स्थितिले बालबालिकाको जीवन बढी सकसपूर्ण छ,” प्रधानाध्यापक रानाले भन्नुभयो ।
“अभिभावकविहीन बालबालिकालाई पढ्न र पढाउन कठिन छ । पोशाकका कुरै छोडौँ, कापीकलम नै नभएपछि उनीहरु स्कुल जाउन् पनि कसरी ? यसले हामी शिक्षण गर्नेलाई पनि गाह्रो भएको छ,” प्रधानाध्यापक रानाले भन्नुभयो, “कति अभिभावकले बालबालिका नै लिएर कालापहाड जान्छन् । नियमित पढ्न नपाउँदा मावि तहमा पुग्न नपाउँदै उनीहरुले पढाई छोड्छन् ।”
उहाँकाअनुसार धेरै बालबालिका अभिभावकविहीन् छन् । मजदुरीका लागि कालापहाड जानैपर्ने बाध्यताले धेरैले लामो समय उतै बिताउँछन् भने कतिले त्यहीँ अकालमै ज्यान गुमाउँछन् । यो समस्या आजका दिनसम्म जस्ताको त्यस्तै नै छ र उनीहरुको आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थामा कुनै फेरबदल नआएको प्रधानाध्यापक रानाको भनाई छ ।
भोको पेट भर्न बालविवाह
इखेनी गाउँ वीरेन्द्रनगरबाट करीब ५५ किलोमिटर दूरीमा अवस्थित छ । समथर भूमि भएकाले जमीन रामै्र छ तर सिँचाइ र खानेपानीको चरम अभाव छ । सिँचाइ नभएका कारण त्यहाँ बसोबास गर्ने स्थानीयले अपेक्षित उत्पादन गर्न सकेका छैनन् । आय आर्जनका त्यस्ता प्रभावकारी कार्यक्रम पनि त्यहाँ सञ्चालन भएको पाइँदैन ।
इखेनीको दलित बस्तीमा न कोही रोजगार छ नत खानपुग्ने उत्पादन नै हुन्छ । उत्पादनको कमीले त्यस समुदायका नागरिकहरु कालापहाड धाउन बाध्य हुन्छन् । पुरुषसहित अधिकांश महिलाहरु कालापहाड जान्छन् । घरमा बालबालिका मात्र बस्छन् । अभिभावकविहीन उनीहरु राम्रोसँग खाना खान पनि पाउँदैनन् । प्रायःबालिकाले ‘भोको पेट भर्न बालबिबाह’ गरेको प्रधानाध्यापक रानाको भनाई छ ।
सुर्खेत पश्चिमका युवा नेता तथा समाजसेवी खड्ग बाँसपानीले गरिबीकै कारण बालबिबाह बढ्ने र इखेनीमा बालबिबाहको बिकराल समस्या रहेको बताउनुभयो । “साविक कर्णालीमा घोडा, खच्चर, हवाइजहाज त चल्छन् तर सुर्खेत पश्चिममा यस्ता विकल्पहरु पनि छैनन्,” उहाँले भन्नुभयो, “यहाँका नागरिक घण्टौं हिड्नुपर्छ । सुर्खेतको पश्चिम क्षेत्र हुम्ला, डोल्पाभन्दा पनि अति दुर्गम छ ।”
उहाँले भन्नुभयो, “नजिकमा भेरी नदी बगिरहेको छ । बिडम्बना ! यसको किनारमा रहेका बस्तीहरुमा सधैँ खडेरी नै छ । नदीमा पानी बगिरहेको छ, बस्ती काकाकुल छ । भेरी नदीबाट लिफ्टिङ गरेर बाँझो भूमिमा सिँचाइ गर्न असहज छैन । यो भौगोलिक अवस्थाको अध्ययन गर्दा खानेपानीको व्यवस्था गर्न धेरै गाह्रो पनि देखिँदैन । तथापि, नेतृत्वको कमजोरीका कारण जमीन बाँझो र रुखो हुँदै गएको छ । त्यहाँका नागरिकहरु कालापहाडको आर्जनले पालिन्छन् ।”
नेपालको संविधानले व्यवस्था गरेको शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायतका मौलिक हकको ठाडो उलङ्घन भइरहँदा हिजोदेखिको कुनै पनि नेतृत्व, समाजसेवी अधिकारवादीले इखेनीवासीहरुको अधिकारको निम्ति ठोस पहल नगरेको उहाँको टिप्पणी छ । मुलुक सङ्घीयतामा गइसकेपछि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने तीनै तहका सरकारहरुको पनि खासै चासो नदेखिएको उहाँको आरोप छ ।
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले इखेनी बस्तीका सबै परिवार भूमिहिन् अवस्थामा रहेको जनाउनुभयो । उहाँले सो बस्ती विकासको ठूलो चुनौति भनेकै सिँचाइ भएको बताउनुभयो । “इखेनी गाउँका लागि अहिले रु ७० लाखमा हामी भेरी नदीको पानी लिफ्टिङ गर्दैछाँै,” उहाँले भन्नुभयो, “अब एक डेढ महिनामा खानेपानी गाउँमा पुग्छ ।”
सिँचाइ आयोजना पनि भेरी नदीबाटै सञ्चालन गर्ने तर त्यसका लागि समय लाग्ने अध्यक्ष बस्नेतले जनाउनुभयो । उत्पादनको कमी भएका कारण कालपहाड धाउने नागरिकहरुको उक्त बस्तीमा सिँचाइ पुर्याउन सके त्यहाँको जीवनस्तर नै बदलिने उहाँको भनाई छ । अध्यक्ष बस्नेतले भन्नुभयो, “सिँचाइ पुग्ने बित्तिकै अहिलेको सम्पूर्ण बाँझो जमिन उपयोगमा आउँछ । उत्पादन वृद्धि भएर बस्ती आत्मनिर्भर बन्छ ।” यसका लागि सहयोग हातहरु आवश्यक रहेको उहाँले जनाउनुभयो ।
सो गाउँपालिकाका ६ नम्बर वडाध्यक्ष खगेन्द्रदेव गिरीले सिँचाइका साथै अशिक्षा, गरिबी र भोकको समस्याले हुने बालबिबाह मानवीय विकासका लागि सबैभन्दा ठूलो चुनौतिको सवाल भएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “बालबिबाह रोक्न जनचेतना काकार्यक्रम अगाडि बढाइएको छ । यद्यपि, बालबालिकाका अभिभावक नै मजदुरीका लागि भारत जान रोक्न नसकिनुले सञ्चालित योजना र कार्यक्रमले अपेक्षित लक्ष्य हासिल गर्न सकेको छैन ।”
उक्त गाउँमा एकल महिलालाई ऋण लिन र उधारो खाद्यान्न पाउन गाह्रो छ । उनीहरुलाई सहजै कसैले पत्याउँदैन । पौष्टिक खानाको त कुरै छोडौँ, सामान्य खानापनि पर्याप्त नहुँदा आमा तथा बालबालिका कुपोषित रहेको वडाध्यक्ष गिरीको भनाई छ । उहाँकाअनुसार इखेनीमा ‘एक घर एक धारा’ को परियोजना निकट केही महिनामै सम्पन्न हुने गरी काम भइरहेको छ ।
चिया पकौडा बेचेर ‘स्कुले’ नानीलाई सहयोग
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका शिक्षक विद्यार्थीहरुले यो एक हप्तामा बराहताल गाउँपालिका– ६ सुर्खेत इखेनीका स्कुले बालबालिकालाई चिया पकौडा बेचेर स्टेशनरी सामग्री सहयोग गरेका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सामाजिक कार्य विभाग स्नातक तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले इखेनीस्थित जनजागरण आधारभूत विद्यालयमा अध्ययनरत १५० बालबालिकालाई स्टेशनरी सामग्री सहयोग गरेका छन् । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले फिल्ड कार्यकाक्रममा चियाप कौडा बेचेर रु २० हजार आम्दानी गरी तीस्कुले बालबालिकालाई सहयोग गरेका हुन् ।
शिक्षक विद्यार्थीहरुको पहलमा उनीहरुलाई रु एक लाख बराबरको पोशाक, कपी र पेन्सिल सहयोग गरिएको विश्वविद्यालय सामाजिक कार्य विभागका प्रमुख खगेन्द्र अधिकारीले बताउनुभयो ।“बालबालिकालाई पोशाक र स्टेशनरी सहयोग मात्र होइन,” उहाँले भन्नुभयो, “५२ बालबालिकालाई विश्वविद्यालयका विद्यार्थीहरुसँग सुर्खेत जिल्लाका विभिन्न प्राकृतिक, पुरातात्विक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको पनिअवलोकन पनि गराइएको छ ।”
विभागीय प्रमुख अधिकारीले भन्नुभयो, “सामाजिक कार्य विभागले रु एक लाख बराबरको स्टेशनरी र पोशाक दिएको छ । उक्त बस्तीमा चरम समस्याका रुपमा देखिएको बालबिबाह रोक्न बाल क्लब पनि गठन गरेको छ । कुरीति र कुप्रथा विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न सामाजिक संघ÷संस्थाहरुको सहकार्य एवं समन्वयमा समुदायमा प्रयोग हुँदै गरेको घरेलु मदिरा पूर्ण रुपमा बन्द गर्ने अभियानका साथै ‘नमूना बस्ती’निर्माण गर्ने योजनामा सहयोग पु¥याएको छ ।”
विश्वविद्यालयको सहयोगले भने बालबालिकालाई विद्यालय जान उत्साह मिलेको छ । विभागले इखेनीका अति विपन्न बालबालिकाको पढाई लेखाई, ज्ञान आर्जन, समाज परिवर्तनका साथै सुर्खेत पश्चिमका लगाम, बेतान, बिजारौका महिलाहरुको पाठेघरमा रिङ राख्ने, सेनिटरी प्याड वितरणदेखि जटिल खालका बिरामीको उपचार शल्यक्रिया गर्न प्रदेश अस्पताल पुर्याउने काम समेत गरिएको उहाँको भनाई छ ।
सामाजिक कार्य अध्ययनरत विद्यार्थी सुरेश खड्काले इखेनीका स्कुल बालबालिकाको दयनीय अवस्था बुझेर प्रभावित क्षेत्रमा पुगेको र एक साताको फिल्ड कार्यमा उनीहरुको कापी पेन्सिलका लागि सहयोग सङ्कलन गरिएको बताउनुभयो । त्यस्तै अर्का विद्यार्थी सृजना शाहीले भन्नुभयो, “फिल्ड कार्यले एकातिर सामाजिक सेवा गर्ने मौका मिलेको छ भने अर्कोतिर व्यावहारिक र प्रयोगात्मक ज्ञान प्राप्तिको सफल अभ्यास भयो ।”
जनजागरण आधारभूत विद्यालयका प्रधानाध्यापक रानाले विश्वविद्यालय यहाँका अति विपन्न बालबालिकालाई कापी, पेन्सिल, पोशाकका साथै प्राकृतिक, धार्मिक तथा साँस्कृतिक सम्पदाको अवलोकन भ्रमणमा विश्वविद्यालयले महत्वपूर्ण सहयोग पुर्याएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “धेरै बालबालिकाहरु वीरेन्द्रनगर नै देखेका थिएनन् । धार्मिक सम्पदा भनेर काक्रेबिहार देउती बज्यैको कुरा किताबमा पढाउँदा बालबालिकाले बुझ्दैनथे । यो भ्रमणले उनीहरुलाई धेरै सिकाएको छ ।”
पाँच कक्षासम्म सञ्चालित विद्यालयमा स्थायी शिक्षकको दरबन्दी नभएको जनाउँदै उहाँले भन्नुभयो, “म राहत दरबन्दीको शिक्षक हुँ । एकजना करार हुनुहुन्छ । छयानब्बे जना बालबालिका छन् । शुरुमा वातावरण राम्रो नहुँदा यो स्कुलमा फसेँ भन्ने लाग्यो । कतिखेर बाहिर निस्कौं जस्तो भयो । अहिले सहयोगी हातहरुले निरन्तर अघि बढ्न उत्साह मिलेको छ ।”
कालापहाडमा दिन गुजारा गर्ने त्यस समुदायका महिलाहरु आयआर्जन गरेर आत्मनिर्भर बनोस् र बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले कर्णाली प्रदेश अस्पतालका बालरोग स्वास्थ्य विभागका प्रमुख डा.नवराज केसीले व्यक्तिगत प्रति परिवार ५० चल्ला पुग्ने त्यहाँका आमाहरुलाई कुखुरा वितरण गर्नुभएको छ । पछिल्लो समयमा आमाहरुलाई कुखुरापालनसम्बन्धी डा केसीले तालिम पनि उपलब्ध गराएको बताउनुभयो । रासस