पोखरा। पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको पोखरा महानगरपालिका–२२ स्थित भुम्दीका स्थानीयवासी घरबासका माध्यमबाट यहाँको गाउँलाई पर्यटकमाझ पु¥याउने लक्ष्यका साथ क्रियाशील छन् ।
भुम्दी टुनार घरबास (होमस्टे) का नाममा सङ्गठित बन्दै यहाँका ११ वटा घरमा विगत एक वर्षयता घरबास सञ्चालनमा ल्याइएको छ । प्रकृति र संस्कृतिका विविधतालाई पर्यटक माझ लैजाने दीर्घकालीन सोचका साथ घरबास सञ्चालनमा ल्याइएको अध्यक्ष नानीमाया गुरुङले जानकारी दिनुभयो । गत वर्षदेखि घरबास सञ्चालनमा ल्याएसँगै पर्यटकको आकर्षण बढिरहेका अवस्थामा एकाएक विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रकोप र त्यसँगै गरिएको बन्दाबन्दीले आफूहरूको जागरुकतालाई प्रभावित बनाएको उहाँले बताउनुभयो ।
समुद्री सतहबाट ८०० मिटर उचाइमा रहेको यस ठाउँबाट माछापुच्छ«े, अन्नपूर्णलगायतका मनमोहक हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । गाउँको शिरमा रहेको रामलक्ष्मण थान यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको होमस्टेकी सदस्य एवं भुम्दी टुनार आमा समूहकी अध्यक्ष राधा गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस तीर्थस्थलमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष(बडा दशैँ) र चैत्र शुक्ल पक्ष(चैते दशैँ)का अवसरमा नवमी तिथिमा विशेष पूजाआजा हुन्छ । उक्त दिनमा कुखुराको बलि दिने गरिएको उहाँले जानकारी दिनुभयो । उक्त दिनमा रामलक्ष्मणको थानमा शिकार खेल्नुपर्छ भन्ने प्राचीन संस्कृति यहाँको अर्को मौलिकता हो । उक्त दिनमा शिकार खेल्नैपर्छ भन्ने प्राचीन मान्यताका कारण स्थानीयवासी जम्मा भएर शिकार खेले झँै गरी हाहाहुहु गर्दै परम्परालाई धान्दै आएको उहाँले बताउनुभयो ।
घरबासमा आउने पर्यटकलाई आफूहरूले यामअनुसारको गाउँमा नै उत्पादित प्राङ्गारिक तरकारीका साथै विभिन्न परिकार खुवाउने गरेको उहाँले जानकारी दिनुभयो । गाउँमा विभिन्न जातजातिका २७ घरमध्ये ११ वटाले घरबास सञ्चालन गरेको जानकारी दिँदै उहाँले होमस्टे सञ्चालन नगर्नेले पनि पर्यटकका लागि आवश्यकपर्ने कृषिजन्य उत्पादन तयार गरी लाभान्वित हुने गरेको बताउनुभयो ।
हिमाली तथा पहाडी दृश्यावलोनको आकर्षक गन्तव्यका रुपमा रहेको यो ठाउँ पञ्चासे पदमार्गमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले बताउनुभयो ।
पञ्चासे पदमार्गमा जानेका लागि यस स्थानमा विगतमा घरबास सञ्चालन नभएका कारण क्याम्पिङ गर्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले घरबास भएसँगै पदयात्रीका लागि निकै सहज बनेको बताउनुभयो ।
तीन÷चार दिनसम्म गर्न सकिने पञ्चासे पदयात्राका साथै पोखराबाट एकदिने हाइकिङका लागि पनि भुम्दी टुनार होमस्टे सहयोगी बन्ने पौडेलको भनाइ छ । उहाँका अनुसार एकदिने हाइकिङमा जान चाहनेले पामेबाट चापाकोट हुँदै भुम्दी, उल्लेरी हुँदै भुम्दी, ड्यामसाइड हुँदै भुम्दीका साथै खाडेखोलाबाट भुम्दीसम्मको एकदिने हाइकिङ गर्न सक्दछन् । भुम्दी टुनार घरबासलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
पदयात्राका लागि आउने पर्यटकले रुचाउने प्राङ्गारिक कृषिजन्य उत्पादनमा यहाँका स्थानीयले जोड दिएको हिमालयन भ्यू टि हाउसका सञ्चालक यामबहादुर गुरुङ(माइला दाइ)ले बताउनुभयो ।
विगतमा क्याम्पिङ गरी बस्न आउने पदयात्री पर्यटकलाई लक्षित गर्दै २२ वर्षअघिदेखि आफूले यहाँस्थित पैयम चौतारामा चियापसल सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले पछिल्ला आठ वर्षयता २२ जनासम्म पर्यटक राख्न सक्नेगरी आवासीय कोठासमेत निर्माण गरेको बताउनुभयो ।
लामो समयसम्म देशमा चलेको सशस्त्र द्वन्द्वका साथै कोरोना महामारी लगायतले पदयात्रा पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको उहाँको अनुभव छ । पदयात्रा पर्यटनसँग भुम्दी गाउँलाई जोड्दै यहाँको समग्र विकासमा योगदान गर्न सकिने उहाँले बताउनुभयो । भुम्दी टुनार घरबासलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजनामा विश्वपृथ्वी दिवसका अवसरमा हालै एक दिवशीय हाइकिङ गरिएको सङ्घका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले बताउनुभयो ।
उहाँका अनुसार नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पोखरा महानगरपालिका– २२ को सहयोगमा आयोजित हाइकिङमा पदयात्रा पर्यटन सम्बद्ध व्यवसायी एवं सञ्चारकर्मीसहित ४५ जनाको सहभागिता थियो । रासस