गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट वडा नम्बर ५ को आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ, नेपाल संवत र ल्होसारलगायतको शुभसन्ध्यामा आयोजित यस कार्यक्रमले भाइचारा र सामाजिक एकतालाई मजबूत बनाउने छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् महासमिति सदस्य मदनभक्त अधिकारीले गुटरहित नेपाली काँग्रेस निर्माणमा आफ्नो भूमिका रहने भन्दै जिल्ला सभापतिमा आफ्नो उमेद्वारीलाई सघाउन अपीलसमेत गर्नुभयो । उहाँले एक जीवन्त इतिहास बोकेको लोकतान्त्रिक पार्टीभित्रका आन्तरिक प्रतिस्पर्धालाई आपसी कलह र द्वेषका रुपमा नहेरी स्वभाविक र सरल प्रकृयाको रुपमा ग्रहण गर्नसमेत सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि क्षेत्रीय सभापति द्रोण वन सन्यासीले नेपाली समाजमा व्याप्त रहेको खुट्टा तान्ने प्रवृत्तिलाई हटाउन पर्नेमा जोड दिनुभयो । उहाँले विगतका कमजोरीहरुलाई पाठका रुपमा ग्रहण गर्दै भावी कार्यदिशा निर्माणमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रमका अतिथि निवर्तमान नगर सभापति तारापति खरेलले कार्यक्रमबाटै प्रदेश सभापतिमा आफ्नो उमेद्वारी घोषणा गर्नुभयो । उहाँले नेपाली काँग्रेसको इतिहास निर्माण कार्यमा अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा निर्वाचित नगर सचिवद्वय गोविन्द घिमिरे ,कृष्णमुरारी खनाल , विद्यार्थी नेता राजेश पौडेल , गोविन्द रिमाल, नेपाल किसान संघका केन्द्रीय सदस्य तुलसीराम गौतम, नेपाल महिला संघ जिल्ला कोषाध्यक्ष शान्ति न्यौपाने, बुथ सभापति शालिकराम घिमिरे लगाएतले मन्तब राख्नुभएको थियो भने वडा नम्बर ५ का पार्टी सभापति लक्ष्मण कार्कीको सभापतित्व रहको थियो।

