चितवन । कोरोना भाइरस सङ्क्रमणका बिरामीले भरतपुर अस्पताल भरिएको छ । स्वास्थ्य कार्यालय चितवनले चितवन जिल्लाभित्रका र बाहिरका कोरोना भाइरस सङ्क्रमणका बिरामीले भरिएको जानकारी दिएको छ ।
‘कोरोनाका बिरामीले भरतपुर अस्पतालका आकस्मिक बेडहरु भरिएको जानकारी आएको छ’ स्वास्थ्य कार्यालय भरतपुरका प्रमुख दीपक तिवारीले भने, ‘भरतपुर अस्पतालमा कोरोनाका बिरामीका कारण ठाउँ अभाव भइसकेको छ ।’ उनले भरतपुर अस्पतालमा कोभिडका बिरामीको उपचार निःशुल्क हुने हुँदा बिरामीको चाप बढेको बताए ।
प्रमुख तिवारीले भने, ‘बिरामीको चाप बढ्दै जाने हो भने थेग्न गाह्रो पर्छ, सङ्क्रमणको संख्या पनि बढिरहेको र अस्पतालमा आउने संख्या पनि बढिरहेको छ ।’ भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले कोरोनाको आइसियू र एचडियूका बेडहरु भरिएको बताए । उनका अनुसार भरतपुर अस्पतालमा शनिबार कोरोनाको बिरामी १० जना आइसियुमा, २ जना भेन्टिलेटरमा र २५ जना एचडियुमा उपचारको क्रममा रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले चितवन मेडिकल कलेजमा पनि १७ जना कोरोनाका बिरामीको उपचार भइरहेको बताइन् । उनले भनिन्, ‘चार जना आइसियूमा छन्, एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । १२ जना सामान्य अवस्थामा उपचार गराइरहेका छन् ।’ पुरानो मेडिकल कलेजमा शनिबार कोभिडका बिरामी नभएका स्वास्थ्य कार्यालयको भनाइ छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी डा युवानिधि बसौलाले सर्जिकल वार्डका ३० बेड कोभिड १९ का बिरामीको लागि छुट्टाइएको बताए । उनले भने, ‘कोरोनाका बिरामीका लागि भरतपुर अस्पतालमा १० वेड आइसियू, २५ वेड एचडियू रहेको छ ।’ भरतपुर अस्पतालका कोभिडका लागि राखिएको सबै बेडहरु कोरोनाका बिरामीले भरिएको उनी बताउँछन् ।
नवलपुरका सङ्क्रमितको भरतपुरमा मृत्यु
नवलपुरका एक जना कोरोना सङ्क्रमितको उपचारकै क्रममा शनिबार बिहान भरतपुरमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत मध्यविन्दु नगरपालिका वडा नं ८ का ४२ वर्षीय पुरूषको मृत्यु भएको हो ।
ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या भएका उनी यही वैशाख ९ गते अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएका थिए ।
वैशाख १० गते कोरोना भाइरसको सङ्क्रमित पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।
२४ घन्टामा ४६ थप सङ्क्रमित
चितवनमा शनिबार थप ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार भरतपुर महानगरपालिकाका ३८ जना, खैरहनी र कालिकाका एक÷एक जना, रत्ननगरका चार जना र राप्ती नगरपालिकाका दुई जना गरी ४६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
‘शनिबार ४६ जना थपिएसँगै चितवनमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ३२३ पुगेको छ ।
तीमध्ये २९७ जना सक्रिय सङ्क्रमित होम आइसोलेसनमा छन् भने बाँकी अस्पतालको आइसोलेसनमा छन् । हालसम्मको तथ्याङ्क हेर्दा चितवनमा कुल सात हजार २७३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।चितवनपोस्टबाट