चितवन । पशुलाई पौष्टिक आहार खुवाउनका लागि अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले साइलेज उत्पादन गरेको छ । साइलेजले दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न पनि सकिने छ । दुधेलो मकै र घाँसको ढोडलाई मेशिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ ।
साइलेजलाई मेशिन (साइलेज ब्यालर)ले नै प्लाष्टिकमा प्याकिङ गर्छ । प्याकिङ गरिएको एउटा साइलेजको तौल एक क्विन्टल भन्दा बढी हुन्छ । यसरी तयार पारिएको साइलेज जाडो याममा ४५ दिन र गर्मी याममा २८ दिनपछि पशुहरुलाई खुवाउन उपयुक्त हुन्छ । गाई भैंसीका लागि साइलेज पौष्टिक आहार हो । साइलेज खुवाएपछि दूध उत्पादन ३० प्रतिशतसम्म बढेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईले बताए ।
साइलेज धुलो दाना भन्दा सस्तो पनि पर्न जान्छ । ‘साइलेज खाएपछि गाईले ३० प्रतिशतसम्म दूध बढाएको हाम्रो अनुभव छ’, उनले भने, ‘अहिलेसम्म साढे दुई सय टन भन्दा बढी उत्पादन गरिसेकेका छौँ ।’ यहाँ गएको फागुन १ गतेदेखि साइलेज उत्पादन थालिएको हो । पशु आहार उद्योग सञ्चालन कार्यक्रमका लागि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशले आर्थिक वर्ष २०७६÷७७ मा अन्नपूर्णलाई एक करोड रुपैयाँ अनुदान दिएको थियो ।
त्यसमा सहकारीले एक करोड ८६ लाख रुपैयाँ थपेर दाना र साइलेज उद्योग सञ्चालन गरेको हो । दाना उद्योगमा धुलो दाना उत्पादन हुने गरेको छ । अन्नपूर्णले दैनिक ३० टन साइलेज र दैनिक ५० क्विन्टल धुलो दाना उत्पादन गरिरहेको छ ।
‘दूध उत्पादनमा लागत कम गरी किसानहरुलाई समृद्ध बनाउने उद्देश्यले आहार उद्योग सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘प्रदेश सरकारले दिएको अनुदानलाई एकदमै सदुपयोग गरेका छौँ । कृषि क्षेत्रबाट पनि नाफा कमाउन सकिन्छ भन्ने खालको सन्देश दिन खोजेका छौँ ।’ सिन्धुली, दोलखा, काठमाडौँ, कास्की लगायत जिल्लाका किसानहरुले साइलेज खरिद गर्ने गरेको उनले बताए ।
अन्नपूर्ण दुग्ध सहकारीमा आबद्ध किसानहरुले साइलेज बनाउनकै लागि २०० विघामा मकै लगाएका छन् । मकै प्रबद्र्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र र अन्नपूर्ण सहकारीबीच सहकार्य भएर मकै खेती गरिएको उनले बताए । ‘किसानहरुले लगाएको मकै किन्दिने सम्झौतामा उहाँहरुकै खेतमा मकै लगाइएको हो’, उनले भने, ‘किसान आफैले काटेर उद्योगसम्म ल्याइदिनुभयो भने प्रतिकिलो ४ रुपैयाँ दिन्छौँ ।’
मकैलाई भन्दा प्याकिङ गर्ने प्लाष्टिकलाई बढी मूल्य परेको उनले बताए । सहकारीले किसानसँग दुधे मकैको ढोड बारीबाट प्रतिकिलो तीन रुपैयाँमा खरिद गर्छ । प्लाष्टिकलाइ पनि प्रतिकिलो तीन रुपैयाँमा खरिद गर्नुपरेको भन्दै उनले भने–‘उत्पादन मूल्य बढी हुन गयो । ५० पैसा मात्रै हामिले नाफा राखेका छौँ ।’
सहकारीले प्रतिकिलो १२ रुपैयाँमा साइलेज विक्री गरिरहेको उनले बताए । लागत घटाएर प्रतिकिलो ९ रुपैयाँमा नै किसानलाई साइलेज विक्री गर्ने कोशिस भएको उनी बताउँछन् । सहकारीको ४०० जना शेयर सदस्य रहेका छन् । सहकारीको डेरीमा ६५० जना किसानहरुले दूध विक्री गर्न ल्याउँछन् । सहकारीको गाई फार्मबाट मात्रै दैनिक तीन सय भन्दा बढी दूध उत्पादन हुन्छ । किसानहरुले दैनिक ७ हजार लिटर भन्दा बढी दूध विक्री गर्छन् ।
अन्नपूर्णको फार्ममा ५० देखि १५० वटासम्म गाई पाल्ने गरिएको छ । ‘किसानहरु उन्नत जातको गाई किन्न आइरहनुहुन्छ । फार्ममा गाईहरु थपघट भइरहन्छ’, सहकारीका अध्यक्ष चापागाईले भने, ‘नयाँ नश्लको गाई ल्याउनका लागि हामी आफैले पनि केहि गाई हटाएका छाँै ।’
सहकारीको प्रतिघण्टा एक हजार लिटर दूध प्रशोधन गर्ने उपकरण रहेको छ । संकलन गरिएको दूधबाट दही, पनिर, चिज, नौनी घ्यु लगायतका दुग्धजन्य पदार्थहरु उत्पादन हुन्छन् । दूध र दुग्धजन्य पदार्थ विक्री गर्ने सहकारीको नौ वटा गाडी रहेका छन् । सात वटा गाडीले जिल्लाभित्रै विक्री गर्छन् भने गोरखा र लमजुङ एक÷एक वटा गाडी जान्छन् ।
राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज नेपाल चितवनका अध्यक्ष विष्णु प्रसाद अधिकारीले साइलेजले गुणस्तरीय दूध उत्पादनसँगै गाई भैंसीहरु पनि स्वस्थ रहने बताउँछन् । अधिकारीले अन्नपूर्णको डेरीमा लगेर दूध विक्री गर्ने गरेका छन् । साइलेज बनाउनका लागि उनले ७ विघामा मकै लगाएका छन् ।
पराल र भुसाको मूल्य पनि प्रतिकिलो १२ रुपैयाँ छ । अफ सिजनमा यसको मूल्य प्रतिकिलो २२ रुपैयाँसम्म पुग्छ । ‘पराल र भुसाभन्दा साइलेज धेरै राम्रो हो । गाई स्वस्थ हुने, दूध बढ्ने र गुणस्तर पनि हुने भएकाले हरेक कोणबाट यो राम्रो छ’, उनी भन्छन् ।