चितवन । चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयले सुरु गरेको संयुक्त सवारी चेकजाँच प्रभावकारी बन्दै गएको छ । विगतमा ट्राफिक प्रहरीको एक्लो प्रयासले चेकजांँच हुंँदै आएपनि यो वर्ष यातायात व्यवस्था सेवा कार्यालयको संयुक्त प्रयासर्ले चोरीका मोटरसाइकल धमाधम पक्राउ परेका छन् ।
ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनको न्यूनिकरणमा जोड दिएर जाँच गरिरहेको छ भने यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारीले बिलवुक तथा चेसिस, इन्जिन नम्बरहरूलाई निगरानी गर्ने गर्दछ । जाँचमा चोरीका सवारी साधन समातिने गरेको र यस्ता जाँचलार्ई थप अन्य ठाउँमा विस्तार गरिने यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख, सुवास उप्रेती बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा, कार्ययोजना अनुसार नै दुर्घटना न्यूनिकरणका लागि जाँच भइरहने बताउनुभयो ।
यस पटक गरिएको संयुक्त जाँचले सवारी नियम पालना गराउनुका साथै चोरीका सवारी समेत बरामद गर्न मद्दत मिलेको थापाको भनाई छ । यातायात कार्यालय र ट्राफिक प्रहरीको संयुक्त जाँचले हराएका सवारी भेटिँदा सवारी धनीहरू समेत बाट यो प्रयासको मुल्यांकन भएको थापाले बताउनु भयो । लकडाउन खुलेसँगै चितवनमा बढ्दो सवारी चापलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले चेकजाँचलाई थप प्रभावकारी गर्दै लगिएको थापाको दाबी छ ।
सवारी चेकजाँचमा राजस्व संकलनलाई भन्दा बढी सचेतनामा जोड दिईएको उहांँले बताउनु भयो । सहज सवारी आवागमन, सर्वसाधारण सुरक्षित गन्तव्यमा पुग्न मद्दत र सडक दुर्घटना न्यूनिकरणका लागि आफूहरू लागिपरेको उहाँले बताउनु भयो । दुईपांँग्रे सवारी सधान हरायो भनेर निवेदन दिए पनि त्यसपछि धेरैले चासो दिँदैनन् । तर, प्रहरीले भने निरन्तर अनुसन्धान जारी राख्ने र यसरी हुने चेकजाँचबाट हराएका यस्ता सवारी साधन पत्ता लगाउंँदै आएको छ ।

