किन्सासा । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा डुंगा दुर्घटनामा परी १०० भन्दा बढी मानिसको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
कंगोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृंखला थियो । यहाँका मानिस देशकै ठूलो कंगो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन् ।
उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मंगलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता रहेको विश्वास गरिएको छ । उक्त दुर्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन् ।
यात्रुको यकिन संख्या भने जानकारी छैन । यो संख्या भने डुंगाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो । यो एक प्रकारको परम्पारागत रूपमा बनाइएको काठको ढुंगा हो ।
प्रवक्ताका अनुसार उक्त दुर्घटना रात्रिको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुनसक्छ ।
पीडितहरूमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरू रहेका छन् । प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धारकार्य जारी रहेको बताएका छन् । रासस/एएफपी

