चितवन। भरतपुर महानगरपालिका ११ थानीचोकमा ‘हाम्रो अर्गानिक किसान घर’ सञ्चालन आएको छ । स्थानीय ५ जना किसानहरुले संयुक्त रुपमा उक्त अर्गानिक किसान घर सञ्चालनमा ल्याएका हुन् ।
उक्त अर्गानिक किसान घरको आज बागमती प्रदेशका प्रदेश सभा सांसद विजय सुवेदीले एक कार्यक्रमका बीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सुवेदीले अर्गानिक उत्पादनलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए । अर्गानिक खाद्य बस्तु उत्पादन तथा बजारीकरणका लागि राज्यले चासो दिनु पर्ने उनको भनाइ थियो । यस्तै उनले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गर्ने राज्यले अर्गानिक उत्पादनमा पनि लगानी पर्नुपर्नेमा जोड दिए । ‘राज्यले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गर्ने गरेको छ । त्यसबाट केही लगानी अर्गानिक खाद्य बस्तु उत्पादनमा गर्ने हो भने स्वास्थ्य क्षेत्रमा धेरै लगानी गर्नु नै पर्दैन’, उनले भने। उनले चितवनको केही पहाडी क्षेत्रलाई अर्गानिक क्षेत्र बनाउनुपर्ने समेत बताए । यस्तै उनले हिमाल, पहाड त तराईमा उत्पादन हुने अर्गानिक खाद्य बस्तुलाई पनि समेट्दै अघि बढ्न सुझाव पनि दिए ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले अर्गानिक किसान घर सञ्चालनमा आउँदा अर्गानिक उत्पादनले पहिचान र बजार पाउने विश्वास व्यक्त गरे । उनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई स्वस्थ राख्नका लागि स्वस्थकर अर्गानिक खाद्य बस्तु मात्र प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले जिल्लाका अन्य किसानहरुलाई पनि समेट्दै लैजान सुझाव दिए । यस्तै उनले अर्गानिक उत्पादनका लागि माटो गुणस्तर हुनुपर्ने र माटोको गुण्सतरका लागि प्राङ्गारिक मल प्रयोग गर्न किसानहरुलाई आग्रह गरे ।
अर्गानिक उत्पादनलाई आम उपभोक्ताको घर घर पुराउनका लागि अर्गानिक किसान घर सञ्चालनमा ल्याइएको सञ्चालक टेकमान वाइवाले जानकारी दिए । विषादीरहित भान्साका लागि सहभागीतामुलक गुणस्तर निर्धारण प्रणाली (पीजीएस) चितवनमा आवद्ध किसानहरुको उत्पादनलाई बजारीकरणका लागि उक्त अर्गानिक किसान घर सञ्चालनमा ल्याइएको वाइवाले भनाइ थियो । आगामी दिनमा जिल्ला भरका किसानहरुलाई समेट्दै थप अन्य स्थानमा पनि यस्तै अर्गानिक किसान घर खोल्ने योजना रहेको उनले बताए ।