पोखरा । पोखराको मुख्य बजार र हेम्जा जोड्ने याम्दीपुल क्षेत्रमा यतिबेला भेडा, च्याङ्ग्राको ठूलो बथान छ । व्यापारीहरु भेडाच्याङ्ग्रा सम्हाल्न व्यस्त छन् भने उपभोक्ता मोलमोलाइमा ।
हरेक भेडा र च्याङ्ग्रा चिन्नका लागि ट्याग टाँसिएको छ । केही दिनदेखि याम्दी क्षेत्रमा भेडा बेच्ने र किन्नेको भिड छ । अघिल्ला वर्षभन्दा यस वर्ष भेडा च्याङ्ग्रा महंगो भएको छ । यहाँ बिक्रीका लागि राखिएका भेडा च्याङ्ग्रा मुस्ताङका मात्र होइन, बझाङसम्मका छन् ।
लेकसाइडबाट आएका खेम पहारी मूल्य सुनेर छक्कै परे । उनी दशैंका बेला हरेक वर्ष यहीँबाट च्याङ्ग्रा किन्छन् । ‘छरछिमेकी मिलेर यहीँबाट च्याङ्ग्रा लैजाने गर्थ्यौं पोहोर त २७ हजार परेको थियो’, पहारीले भने, ‘यस पटक त कहाँ हो कहाँ पुगेछ मूल्य ।’ उनको समूहले एउटा च्यांग्रा ४३ हजार रुपैयाँमा किनेको छ ।
पोखरा ल्याइएका रोज्जा च्याङ्ग्रालाई ४५ हजार रुपैयाँ पर्छ । धेरै बार्गेनिङ गरेपछि मात्रै २ हजार घटाएको पहारीले बताए । ‘हिमाली जडिबुटी खाएको हुन्छ रे ! ज्यानलाई पनि राम्रै होला ! वर्ष दिनमा एक दिन भएपनि राम्रै खाऔं न त भनेर आँटियो,’ उनले भने ।
बझाङका जसवीर बोहरा प्रत्येक दशैंको अवसर पारेर भेडा, च्याङ्ग्रा बटुलेर पोखरा आइपुग्छन् । उनले यो काम गर्न थालेको ५ वर्ष भयो । ‘बझाङबाट धनगढीसम्म नै ३ दिनभन्दा बढी लाग्यो । त्यहाँबाट २ वटा ट्रकमा हालेर चितवन हुँदै पोखरा ल्यायौं’ बोहराले भने, ‘यसपालि त पोहोर, परारभन्दा बेपार घट्या छ ।’
उनीसहित ३ जना मिलेर बझाङबाट १ सय २० वटा भेडा र च्याङ्ग्रा पोखरा ल्याएका थिए । त्यसमध्ये २ दिनमा १० वटामात्रै बिक्री भएका छन् ।
गाउँघरमा आफूले किन्दा महंगो परेकाले भाउ बढाएको उनको तर्क छ । ‘भेडा, च्याङ्ग्रा किन्ने धेरै भए । पाल्ने घटे । त्यही भएर महंगो पर्यो होला !’ उनले भने, ‘यता महंगो भएर बेच्नै गाह्रो ।’
तैपनि दशैंको फूलपाती अष्टमीसम्म बिक्री हुने आशामा छन् उनी । पहिले धनगढीतिरै भेडा च्याङ्ग्रा बिक्री गर्ने जसवीर साथीभाइले पोखरामा राम्रो व्यापार हुने बताएपछि यतै सोझिएको बताउँछन् ।
भेडा, च्याङ्ग्राको मूल्य अघिल्लो वर्षभन्दा झन्डै दोब्बर बढेको छ । त्यसैले उपभोक्ताहरु किनिहाल्न डराएका छन् ।
‘अघिल्ला वर्षहरुमा त रोजी रोजी मुस्ताङ, तिब्बती भेडा, च्याङ्ग्रा खाइन्थ्यो । अरुबेलाभन्दा सस्तो पर्ने भएकाले एक्लै पनि उठाउने आँट आउँथ्यो,’ च्यांग्रा बिक्रीस्थलमा भेटिएका एक उपभोक्ताले भने, ‘अहिले ४/५ जना मिल्दा पनि किन्न नसकिने गरी महंगो पर्यो ।’
बेनीका विकास मगर अघिल्लो वर्ष पनि पोखरा आएर मुस्ताङी च्याङ्ग्रा बेचे । तर, अघिल्लो वर्ष सोचेजस्तो कमाइ भएन । यस वर्ष केही हुन्छ कि भन्ने आसले करिब २ सय च्याङ्ग्रा ल्याएका उनी सबै बिक्री नहुने हो कि भन्ने डरमा छन् ।
‘अघिल्लो वर्ष त्यत्रो दुख गरेर ल्याइयो । खाइपाई ठीकै भयो । यो वर्ष झन् हामीलाई गोठमै किन्न पनि महंगो प¥यो । नाफा कसरी निकाल्ने भन्ने भा’छ,’ मगर सुनाउँछन् ।

