चितवन ।अखिल क्रान्तिकारी स्कुल अफ हेल्थ साइन्स इकाइ समितिले मंगलबार थप दुईवटा कार्यकक्षमा तालाबन्दी गरेको छ। सोमबार कलेजका प्रिन्सिपल डा रजनी शाहको कार्यकक्षमा ताला लगाएको अखिलले आफूहरूको माग पूरा नगरेको भन्दै मंगलबार वरिष्ठ लेखा तथा प्रशासनिक अधिकृत काशीनाथ पण्डित र लेखापाल इन्द्रकान्त रेग्मीको कार्यकक्षमा पनि ताला लगाएको हो।
सिटिइभिटीको प्रदेश कार्यालय हेटौँडाले असोज ९ गते नै सूचना जारी गरेर विद्यार्थी भर्ना प्रकृया सुरू गर्न भने पनि कलेजले नतिजा प्रकाशनमै गल्ती गरेपछि त्यसैको विरोधमा विद्यार्थी सस्ंगठनले आन्दोलन चर्काएको हो। अनलाइन फारम भरेर प्रवेश परीक्षा दिएका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्दा कम अंक ल्याउनेको क्रम संख्या बढी अंक ल्याउनेको भन्दा माथि भएको भन्दै त्यसलाई सच्याएर यथाशीघ्र भर्ना प्रकृया सञ्चालन गर्न विद्यार्थी संगठनले माग गर्दै आइरहेका थिए ।
आन्दोलनमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमाले निकटका विद्यार्थी संगठनहरूले पनि विज्ञप्ति टाँस गर्ने र गल्ती सच्याएर भर्ना प्रकृयामा जान दबाब दिइरहेका छन्।
कलेज प्रसासनले भने आफूहरूको गल्ती भएकोले सच्याउने समय दिन माग गरिरहेको छ । केन्द्र र प्रदेशसँग जतिसक्दो चाँडो त्रुटी सच्याएर विद्यार्थी भर्नाको म्याद पनि लम्ब्याउनुपर्ने माग राखेको उनले बताइन्। कलेजले फारम भर्ने विद्यार्थीको संख्या अत्याधिक भएकोले नतिजा प्रकाशनमा त्रुटी भएको बताउँदै आएको छ।
कलेजमा सामान्य चिकित्सक, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, डेन्टल हाइजिन, फिजियोथेरापी र फार्मेसी गरी २८२ जनाले भर्ना गर्न पाउँछन्। तर, अनलाइन फारम भने करिब दुई हजार ८०० जनाको परेको कलेजले बताएको छ।

