चितवन । चितवनको भरतपुरमा भोलि दिनभर विद्युत अवरुद्ध हुने भएको छ। बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको हो ।
केन्द्रका प्रमुख राजिवकुमार सिंहले सवस्टेशनमा स्तरोन्नतीको काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने बताए । १३२ केभी, ३३ केभी र ११ केभी हेटौंडा ग्रीड अन्तर्गतको भरतपुर महानगरपालिका ११ बसेनीमा रहेको सवस्टेशनमा ११ केभी भिसिबि र लोड ब्रेकर स्विचहरु स्तरोन्नती गर्न लागिएको प्रमुख सिंहले बताए ।
भिसिबि र लोड ब्रेकर पूरानो भइसकेका र कम क्षमताका पनि भएकाले नयाँ फेर्न लागिएको उनले बताए । स्तरोन्नती गरेपछि भरतपुरमा भोल्टेजको समस्या, केबल पड्कने समस्या समाधान हुने उनको भनाइ छ ।
यस्तै विस्तारको क्रममा रहेको पुल्चोक–गोन्द्राङ्ग सडकमा पोल सार्ने काम पनि हुँदैछ । त्यसैले दुबैतर्फको काम एकैदिन पार्न खोजिएको प्रमुख सिंहले बताए ।

