चितवन । यतिबेला चितवनका कोही तरकारी किसान ज्यादै खुसी छन् भने कोही तरकारी किसान निराश भएका छन् । गोलभेँडाखेती गरेका किसानले लागतको आधा मूल्य पनि उठाउन सकेका छैनन् भने बोडी र घिउसिमीखेती गरेका किसानले भने प्रतिकिलो १२० रूपैयाँसम्म मूल्य पाइरहेका छन् ।
गोलभेँडाको खेती गरेका किसानहरु भाउ नपाएपछि बारीमै कुहाएर छोड्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको तरकारी जोनको सञ्चालक समितिका सहसचिव तथा किसान रामचन्द्र रेग्मी गोलभँेडाको खेती गरेका किसान बोटबाट टिप्न छोड्ने अवस्थामा पुगेको बताउँछन् ।
उनी भन्छन्, ‘गोलभेँडा बेचेर लागतको कुरा छोडौँ, टिपाइ खर्च र बजारसम्म लैजाने ढुवानी खर्च पनि पनि उठ्दैन अनि गोलभेँडा किन टिप्ने ?’ उनका अनुसार गोलभेँडाको बजारमा भाउ नै छैन, जसका कारण गोलभेँडाखेती गर्ने किसान यतिबेला ठूलो नोक्सानमा छन् ।
किसानले हिजोआज एक क्रेट गोलभेँडालाई २०० रूपैयाँमा बेचिरहेका छन् । प्रतिकिलो आठ रूपैयाँ ६९ पैसा किसानले पाउँछन् । जब कि, एक किलो गोलभेँडा उत्पादन गर्दा कम्तीमा १५ रूपैयाँ लागत पर्छ ।
‘गोलभेँडा किसान ठूलो मर्कामा छन्, यही अवस्था रहेको खण्डमा गोलभेँडा टिप्न छोड्छन् र बारीमा कुहिएर जाने अवस्था छ’, किसान रेग्मीले भने, ‘बोडी, घिउसिमी, क्याक्सिकम, बन्दा, मूला, गाजरलगायतका तरकारी लगाउने किसानले राम्रो मूल्य पाइरहेका छन् ।’
यतिबेला भरतपुर महानगर तरकारी बजारमा गोलभेँडा प्रतिकिलो २० रूपैयाँमा बिक्री भइरहेको त्यहाँका व्यवसायीहरु बताउँछन् ।
महानगर तरकारी बजारका सञ्चालक एवं फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले गोलभेँडाको उत्पादन बढी भएको र उत्पादन भएका सबै गोलभेँडा एकैचोटि बजारमा आएका कारण भाउ नभएको बताए । उनले भने, ‘गोलभेँडाको खेती गर्ने किसान यतिबेला साह्रै मर्कामा छन् ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले यसपटकको सिजनमा चितवनमा गोलभेँडाको उत्पादन ज्यादा बढी हुनु र मौसमका कारण एकैचोटि पाक्ने अवस्था भएकाले मूल्य नभएको बताए । उनले भने, ‘गोलभेँडा निश्चित समयमा बेच्नुपर्छ, धेरै दिन टिकाइराख्न सकिन्न, जसका कारण तत्काल बेच्नुपर्ने हुँदा पनि भाउ नभएको हो ।’
परियोजनाको तरकारी जोनअन्तर्गत चितवनमा यतिबेला दैनिक ४० टनभन्दा बढी गोलभेँडा उत्पादन भइरहेको छ । चितवनमा दैनिक तीन टन गोलभेँडाले पुग्छ । अन्य गोलभेँडा ज्यादै सस्तोमा पोखरा, काठमाडौँलगायतका बजारमा गइरहेको छ ।
गोलभेँडाबाहेक अन्य तरकारीको भाउ पछिल्लो एक महिनाको अवधिमा २० देखि ३० प्रतिशतसम्म मूल्य बढेको छ । यतिबेला किसानको बोडी बारीबाटै १२० रूपैयाँसम्म बिक्री भइरहेको छ । एक महिनाअघि सो मूल्यमा ३० प्रतिशत कमी थियो । त्यस्तै, अहिले घिउसिमी ११० रूपैयाँ प्रतिकिलोमा किसानको बारीबाटै उठिरहेको छ ।
एक महिनाको बीचमा करेला, खुर्सानी, क्याप्सिकम, मूला, गाजर, बन्दा, काउलीलगायतका तरकारीमा पनि १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले उत्पादन कम भएका तरकारीहरुको मूल्य बढी हुने र उत्पादन बढी भएको तरकारीको मूल्य कम हुने बताए । उनले भने, ‘मूल्य बढेको होइन, उत्पादनको असर हो ।’
भरतपुर–२५ मा रहेको अमृत कृषक समूहका अध्यक्ष भरतप्रसाद नेपालले गोलभेँडाको भाउ नभए पनि अन्य तरकारीको भाउ राम्रै रहेको बताए । उनले भने, ‘गोलभेँडा लगाउने किसानबाहेक अन्य तरकारीका किसान मर्कामा छैनन् ।’चितवनपोस्ट बाट