मुगु । परिश्रम र लगनशीलताको उदाहरण बन्कानुभएका छायाँनाथ रारा नगरपालिका–१, गमगढी निवासी अदानसिंह शाहीले गाईपालन व्यवसायमार्फत परिवारको जीवन धानिरहनुभइरहेकाे छ। २०७६ सालदेखि गाईफर्म सञ्चालन गर्दै आउनुभएका शाही अहिले डेरी व्यवसायमासमेत सक्रिय हुनुहुन्छ, तर अपेक्षाअनुसारको फाइदा भने लिन नसकेको उहाँ बताउनुहुन्छ।
पाँच सदस्यीय परिवारका अभिभावक शाहीका तीन सन्तान काठमाडौंमा अध्ययनरत हुनुहुन्छ। घरमा दुई जनाले मात्रै सबै काम सम्हाल्नुपर्ने भएकाले दिनभरि कामको भ्याईनभ्याई हुने गरेको छ।
शाहीले सञ्चालन गरेको फर्ममा मुख्यतः जर्सी जातका गाई छन्, जसलाई तराईबाट खरिद गरी ल्याइएको हो। केही गाई भने जिल्लामै जन्माएर हुर्काइएको उहाँले बताउनुभयाे। गाईपालनसँगै उहाँले गमगढी बजारमा डेरी सञ्चालन गर्दै दूधसँगै घिउ, दही, छुर्पी र पनिर उत्पादन गरी बिक्री वितरण गर्दै आइरहनुभइरहेकाे छ । यी उत्पादनहरूबाट परिवारको मुख्य आम्दानी हुने गरेको छ।
शाहीका अनुसार दुःख र लगनशीलताका बाबजुद पनि सोचेअनुसारको आम्दानी हुन सकेको छैन। “तराईका जर्सी जातका गाई हिमालको हावापानी सहन नसक्दा जोगाउन निकै गाह्रो भयो,” उहाँले भन्नुभयाे, “पाँचवटा गाई त मरे।”
उहाँका अनुसार रोगव्याधि, दाना–पानीको अभाव र प्राविधिक सहयोगको कमीका कारण व्यवसाय प्रभावित भएको छ। साथै, उहाँले हालसम्म भेटनरी तथा पशु अस्पताल मुगुबाट डेरी सञ्चालन तथा अन्य खर्चका लागि करिब ७ लाख रुपैयाँसम्म अनुदान प्राप्त गरेको बताउनुभयाे।
“सुरुमा निकै संघर्ष गर्नुपर्यो, अहिले पनि सहज छैन,” शाहीले भन्नुभयाे, “दूध र दुग्धजन्य उत्पादनले घरधन्दा त चलेको छ, तर अपेक्षा जस्तो प्रगति भएको छैन।”
दुर्गम क्षेत्रमा यस्ता व्यवसायले आत्मनिर्भरता र रोजगारीको सम्भावना देखाए पनि उचित सहयोग, प्राविधिक सेवा र बजार व्यवस्थापन नहुँदा किसानहरू अझै संघर्षमै छन्।

