चितवन । रत्ननगर महोत्सवको १३औं संस्करण अन्तर्गत मंगलबारदेखि चिकेन एण्ड एग फुड फेस्टिबल सुरु हुँदैछ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा रत्ननगर वडा नं १ सौराहाचोक स्थित बसपार्कमा फेस्टिबल आयोजना गरिएको हो । फेस्टिबलको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्ने छन् ।
कुखुराको मासु र अण्डाको खपथ बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासु र अण्डाको विशेष परिकार तथा जनजातीका परिकार सहित फेस्टिबल आयोजना गरिएको संघका पूर्वअध्यक्ष तथा फेस्टिबलका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो । फेस्टिबलमा २० वटा खानाका स्टलहरु रहने छ । बेलुका पाँच बजेदेखि राती १० बजे सम्म सञ्चालन हुने खाना महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने संयोजक विसुरालले बताए । टिकौलीमा महोत्सव चलिरहदा टाँडी बजारलाई पनि चलायमान गराउन तथा कुखुराको मासु र अण्डाको प्रर्बद्धनका लागि फेस्टिबल आयोजना गरिएको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।
फेस्टिबलमा विभिन्न जातजातीका खानाको परिकारको समेत प्रर्वद्धनका लागि परम्परागत तथा रैथाने खानाका परिकारका स्टलहरु समेत राखिएको अध्यक्ष गिरीले बताए । फेस्टिबलको प्रवद्र्धकमा पशु सेवा विभाग, राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय, वागमती प्रदेश, पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा कार्यालय, प्रायोजकमा नेपाल कुखुरा व्यवसायी मञ्च, चितवन र सह प्रायोजक याक ब्रुअरीको वाह्सिंगे, हिमालयन डिष्ट्रिलरी रहेका छन् । उता संघको आयोजना र रत्ननगर नगरपालिका संरक्षक रहेको रत्ननगर महोत्सवको पाँचौ दिन सम्म आइपुग्दा अबलोकनकर्ताहरुको संख्या बढ्दै गएको छ । महोत्सव अबलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् ।
महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । यस पटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अबलोकन मुख्य आर्कषणको रुपमा रहेको छ । महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।
विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको खनालले बताए । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरु समेत रहेका छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।

