चितवन। रत्ननगरमा एक बृद्धा महिलाको विभत्स हत्या भएको छ । आज शनिवार बिहान पौने ११ बजे रत्ननगर नगरपालिका-४ सिनेमा रोड निवासी ६८ वर्षिय सुकमाया देवी तामाङको हत्या भएको अवस्थामा शव भेटिएको हो । तामाङ घरको तेस्रो तलामा एक्लै बस्दै आएकी थिइन् ।
घटनास्थलको प्रारम्भिक अवलोकनले यो सामान्य मृत्यु नभई योजनाबद्ध र क्रूर हत्या भएको संकेत गरेको चितवन प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार घटनास्थलमा मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। “घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ। हामी सबै कोणबाट अनुसन्धान गरिरहेका छौं,” उनले भने ।
स्थानीयले बृद्धले लगाएका सुनका गरगहना नभेटिएको भन्दै गहना चोर्नका लागि हत्या गरिएको हुनसक्ने बताएका छन ।
प्रहरीले सम्भावित अपराधीको खोजी तीव्र बनाएको छ भने आसपासका सीसीटीभी फुटेज, छिमेकीसँगको सोधपुछ र मृतकको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको जनाएको छ।

