चितवन । देशकै प्रमुख लाइफलाइनको रूपमा रहेको मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलाको पहिरो नियन्त्रणमा सरकारी उदासीनता देखिएको छ । गत असोजमा पटक–पटक खसेर देशभरको यातायात तथा आपूर्ति प्रणालीलाई ठप्प पारेको तुइन खोलाको संवेदनशील पहिरो रोकथामका लागि तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि काम सुरु हुन सकेको छैन ।
गत असोज–कात्तिकमा पटक–पटक खसेको सुक्खा पहिरोले घण्टौँसम्म यात्रु र सवारीसाधन घण्टौँसम्म जाममा बस्न बाध्य बनायो । सडक विभागले वर्षायाम सुरु हुनुअघि नै ठेक्का लगाएर काम सम्पन्न गरिसक्नुपर्नेमा अझै पनि ‘डिजाइन रिभ्यु’मै अल्झिएको छ । तत्काल रोकथामका लागि काम अघि बढाउनु पर्ने बेलामा समेत प्रारम्भिक अध्ययन बाहेक कुनै काम हुन नसक्नुले यस वर्षको वर्षायाममा समेत सडक अवरुद्ध हुने र यात्रुहरूले सास्ती भोग्नुपर्ने जोखिम देखिन्छ ।
विभागका महानिर्देशक डा. विजय जैसीले तुइन खोलाको पहिरो धेरै पुरानो समस्या भएको र एक वर्षअघि नै यसको डिजाइन तयार भएको बताए । साथै यस पटक पहिरो गएपछि उक्त डिजाइनलाई ‘रिभ्यु’ गरेर पुनः डिजाइन गर्नुपर्ने बाध्यता आएको बताएका छन् । ‘यो पहिरो धेरै पुरानो हो,’ महानिर्देशक डा. जैसीले भने, ‘अघिल्लो पटकको डिजाइन रिभ्यु गरेर पुनः डिजाइन गर्नुपर्ने भएकाले अहिले डिजाइनकै चरणमा छ । यो पहिरो रोकथामका लागि सडक डिभिजन भरतपुरले हेरिरहेको छ ।’
गत असोज सुरु हुँदैदेखि तुइन खोला नजिकै निरन्तर सुक्खा पहिरो गएको थियो । असोज ७ गते विशाल पहिरो खसेको थियो । उक्त पहिरो १४ सय घनमिटर रहेको प्रारम्भिक अनुमान गरिएको थियो । उक्त पहिरो ९ गते राति मात्रै पन्छाउन सफल भएर यातायात सञ्चालनमा आएको थियो । त्यसयता पनि पहिरो जाने ढुंगा खस्ने क्रम जारी थियो । मनसुन बाहिरिएसँगै अहिले पहिरो खस्न छाडेको छ । तर अझै पहिरो जाने जोखिम भने कायमै छ ।
ठेक्का चालु वर्षभित्रै लगाउने लक्ष्य
सडक डिभिजन भरतपुरले तुइन खोलाको पहिरो व्यवस्थापनको ठेक्का चालु आर्थिक वर्षभित्रै लगाउने गरी तीव्र रूपमा तयारी गरिरहेको जनाएको छ ।
यो पहिरो रोकथामका लागि रक नेटिङ, एन्करिङ, बेन्चिङ वा अन्य कुनै विशेष भू–इन्जिनियरिङ समाधान आवश्यक पर्ने देखिएको छ । भौगोलिक जटिलताका कारण नै डिजाइन प्रक्रियामा बढी समय लागिरहेको विभागको दाबी छ ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार पहिरो नियन्त्रण सम्बन्धी फाइल विभागमा पेस भइसकेको छ र अहिले यसको डिजाइन कार्य तीव्र गतिमा अगाडि बढेको छ ।
तुइन खोला पहिरो व्यवस्थापनको काम आउने वर्षायामअघि नै सुरु गर्ने लक्ष्य रहेको इन्जिनियर आचार्यले जानकारी दिए । बर्खायाममा सडक अवरुद्ध भइरहने समस्याबाट मुक्ति पाउन यसै वर्षभित्र ठेक्का सम्झौता गरेर निर्माण कार्य थालनी गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ ।
‘विभागबाट विज्ञहरूले तुइन खोलाको साइट निरीक्षण गरिसकेका छन्,’ आचार्यले भने, ‘डिजाइनलाई अन्तिम रूप दिनुअघि फेरि एक पटक भेरिफाइ गर्न फिल्डमा आउने तयारी छ । हाम्रो आशा यही वर्षभित्र काम सुरु हुन्छ भन्ने हो ।’
पहिरो नियन्त्रणको प्राविधिक जटिलता
तुइन खोलाको पहिरो नियन्त्रणका लागि प्रयोग गरिने प्रविधि अन्य स्थानको भन्दा फरक र जटिल हुने इन्जिनियर आचार्यको भनाइ छ । उनले यस पहिरोमा मुख्य समस्या ठुला ढुंगा र चट्टानको रहेको औँल्याए । ‘यो पहिरोमा ढुंगाको समस्या छ । यसमा कस्तो प्रविधि प्रयोग गर्ने भन्ने कुरा ठाउँको प्रकृति हेरेर डिजाइन तथा प्रविधि प्रयोग गरिनेछ,’ उनले भने ।
यो पहिरो रोकथामका लागि रक नेटिङ, एन्करिङ, बेन्चिङ वा अन्य कुनै विशेष भू–इन्जिनियरिङ समाधान आवश्यक पर्ने देखिएको छ । भौगोलिक जटिलताका कारण नै डिजाइन प्रक्रियामा बढी समय लागिरहेको विभागको दाबी छ ।
यसबिच, देशको समग्र वित्तीय अवस्था र पछिल्लो समय सरकारले गरेको बजेट कटौतीको असर पूर्वाधार निर्माणका काममा समेत परेको छ । इन्जिनियर आचार्यका अनुसार समग्रमा बजेटमा कटौती भएर आउँदा सडक डिभिजन भरतपुर अन्तर्गतका अन्य विकास निर्माणका काम सुस्त गतिमा रहेका छन् । निर्वाचन वा अन्य राजनीतिक कारणहरूले गर्दा बजेट रोकिने र कम आउने समस्या छ ।
यद्यपि, तुइन खोलाको समस्यालाई भने विभागले प्राथमिकतामा राखेको आचार्यले स्पष्ट पारे । मुग्लिन–नारायणगढ सडकखण्डमा वर्षायाममा लगातार पहिरो खस्ने समस्याले देशको अर्थतन्त्र, पर्यटन र आपूर्ति प्रणालीमा ठुलो असर पार्ने गरेको छ ।
देशकै लाइफलाइनमा पर्ने यो खण्डको तत्काल समाधान गर्नका लागि विभागले प्राथमिकताका साथ काम अगाडि बढाइरहेको भएपनि कागजी प्रक्रिया र प्राविधिक तयारीमा भएको ढिलाइले आम यात्रु र यातायात व्यवसायीहरूलाई भने चिन्तित बनाएको छ । यदि वर्षाअघि काम सुरु हुन सकेन भने यस वर्ष पनि मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको भयावह त्रास कायम रहने निश्चित देखिएको छ ।

