चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन- पश्चिम चितवन इकाई नं २ को प्रथम वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता र संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.कको विशिष्ट आतिथ्यतामा इकाईको साधारण सभा भएको हो ।
साधारणसभामा संघका अध्यक्ष विश्वकर्माले जिल्ला संघ चितवनभरका सुनचाँदी व्यवसायीहरूको अभिभावक संघ भएकाले सबैको सुख दुःखमा साथमा रहने बताउनुभयो।
उहाँले सरकारले लागू गरेको विलासिता शुल्क बिटुसी नभई बिटुबी कायम गरिनुपर्ने बताउनुभयो। सो कार्यान्वयन गराउन महासंघ लाग्नुपर्ने समेत उहाँले बताउनुभयो।
सरकारले ग्रे-लिस्टको बहानामा व्यवसायीलाई दु: ख दिने काम गरेको उहाँले बताउनुभयो।
इकाई संयोजक अनिष विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका द्वितीय उपाध्यक्ष मोहन पन्थी, पार्वतीपुर बजारका प्रहरी इन्चार्ज मोहन कुमार ओझा, संघका सदस्य दीपक विश्वकर्मा, पश्चिम चितवन सुनचाँदी व्यवसायी महिला समूहकी अध्यक्ष मैना सेन्चुरी, पश्चिम चितवन इकाई नं १ संयोजक अन्जु सुनारको उपस्थिति रहेको थियो।
साधारणसभामा इकाई सचिव सुभास विश्वकर्माले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कोपिला बरालीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन भएको थियो ।
साधारणसभाले इकाईको वर्तमान तदर्थ समितिलाई पूर्ण समितिमा रुपान्तरण गरेको थियो ।

