जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष वित्दा पनि पुल बन्न सकेको छैन । पुल नबनेपछि स्थानीय श्रोत साधन तथा प्रविधिको प्रयोग गरेर बनाइएको अस्थायी पुलबाट आम जनता नदी वारपार गर्न बाध्य छन् ।
स्थानीय प्रविधि तथा सामाग्रीको प्रयोग गरेर बनाइएको अस्थायी पुल भएर वारपार गर्नेसँग प्रति व्यक्ति बीस रुपैयाँ शुल्क लिने गरेका छन् ।
विगतमा एक सयसम्म शुल्क लिने गरेको गुनासो आएपछि सिरहा नगरपालिकाले समन्वय गरेर शुल्क पुल तर्न २० रुपैयाँ शुल्क कायम गरिएको सिरहा नगरपालिकाका प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिनुभयो ।
कमला नदिमा पुल नहुँदा हल्का तथा ठूला सवारी साधनहरू मधेश प्रदेशका राजधानी जनकपुरधामबाट पूर्व पश्चिम लोक राजमार्ग भएर सिरहा जानुपर्ने बाध्यता छ । हुलाकी राजमार्ग भएर जनकपुरधामबाट सिरहा जानका लागि बढीमा ४५ मिनट लाग्ने अवस्था भए पनि पुल नभएपछि समय तथा बढी साधन श्रोत खर्च हुने गरेको छ ।
धनुषाको पूर्वी भेगका जनताहरूको किनमेल गर्ने बजारको रुपमा सिरहा जिल्लाको सदरमुकाम नै भएकाले दैनिक रुपमा नदी वारपार गर्नुपर्ने बाध्यता रहेको धनुषाको कमला नगरपालिकाका प्रमुख विश्वेश्वर यादवले जानकारी दिनुभयो ।
विसं २०६८ मा तीन वर्षभित्र पुल सम्पन्न गर्ने सम्झौता भए पनि पटक पटक म्याद थप गरिँदा पनि ठेकेदारको लापरवाहीका कारणले पुल बन्न नसकेर अलपत्र रहेको नगरप्रमुख यादवले जानकारी दिनुभयो । सुरुमा ‘पप्पु कन्ट्रक्सन’ले पुल अलपत्र पारेपछि कालोसूचीमा परेको थियो । पुलको बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ले लिएको थियो । काम पूरा हुन लागेको अवस्थामा करिब चार वर्षअघि आएको बाढीले पुलको दुई वटा पिलर भासिएपछि निर्माण अनिश्चित बनेको छ ।
विसं २०८२ असारसम्मको अन्तिम म्याद थपको अवधि पनि गुज्रिसकेको भए पनि पुल निर्माण हुन सकेको छैन । तराई मधेसको ‘लाइफ लाइन’का रूपमा रहेको हुलाकी राजमार्ग अन्तर्गतको उक्त पुल निर्माणमा ढिलाइ भएपछि स्थानीयबासीमा आक्रोश बढ्दै गएको छ । पुल निर्माणका लागि स्थानीयले पटक पटक आन्दोलन पनि गर्दै आएका छन् ।

