काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य वर्षमान पुन (अनन्त)ले जेनजी समूहका मागहरूप्रति आफ्नो पार्टीको समर्थन निरन्तर रहने बताएका छन् । बुधबार बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच भएको त्रिपक्षीय छलफलमा उनले उक्त धारणा राखेका हुन् ।
पुनले माओवादी केन्द्रले जेनजी समूहको आन्दोलनअघि र पछि पनि समर्थन गरेको उल्लेख गर्दै भने, ‘जेनजीको मागमा हामीले आन्दोलनपूर्व र पछि पनि समर्थन जनाएका थियौँ । अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहन्छौँ ।’
उनका अनुसार माओवादी केन्द्रले सरकारमा वा प्रतिपक्षमा रहँदा सुशासन र भ्रष्टाचार नियन्त्रणका पक्षमा काम गर्दै आएको छ । ‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा हामी र जेनजीबीच निकटता छ । त्यसैले हाम्रो समर्थन आन्दोलनमा र पछि पनि निरन्तर रहेको हो,’ उनले स्पष्ट पारे ।
पुनले २३ र २४ भदौपछिको राजनीतिक अवस्थाबारे पनि धारणा राख्दै भने, ‘हामीले राजनीतिक र संवैधानिक प्रक्रियासँगै जानुपर्छ भनेका थियौँ । सडकले नागरिक सरकार बनायो, तर त्यसलाई संसदले अनुमोदन गर्नुपर्छ भनेका थियौँ । अब देशलाई सही संवैधानिक बाटोमा लैजाने माध्यम निर्वाचन हो ।’
उनले सरकारलाई विश्वासिलो निर्वाचन वातावरण निर्माणमा केन्द्रित हुन आग्रह गरे । साथै, २०४६ पछि सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संयन्त्र बनाउन सके माओवादी केन्द्र त्यसमा पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

