सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दूधकोशी गाउँपालिका–६ स्थित भिरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार साँझ भएको उक्त दुर्घटनामा छ जना घाइते भएका छन्। जिपमा सवार चालकसहित सबै यात्रु सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बोलेरो जिपको ब्रेक फेल भएर गाडी सडकबाट करिब ६०० मिटर तल खसेको हो।
मृत्यु हुनेमा महाकुलुङ गाउँपालिका–३ छेस्कामका १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रहेका छन्।
त्यसैगरी घाइते हुनेमा महाकुलुङ–३ का ३२ वर्षीय श्रीध्वज राई, महाकुलुङ–४ का १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई, सजना राई र १० वर्षीय उमेश राई रहेका छन्।
जिपमा सवार ११ जनामध्ये दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार जिल्ला अस्पताल फाप्लुमा भइरहेको छ भने मृतकहरूको शव पोस्टमार्टमका लागि महाकुलुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

