चितवन । विगतका वर्षजस्तै यसबर्ष पनि विदेश निर्यात गरिएको छ । कालिका नगरपालिका वडा नं–२, पदमपुरका युवा किसान हुन् गोविन्द बास्तोलाले सयपत्रीको माला र फूल हङकङ र दुबई पठाउनु भएको हो । गतबर्ष उहाँले सयपत्रीका माला फूल हङकङ कतार पठाउनु भएको थियो । विगत पाँच वर्षदेखि बास्तोलाले फुल खेती गर्दै आउनु भएको छ ।
‘यसपटक तिहारका लागि सयपत्री फूलको आठ सय माला दुबई पठाएको छु’, बास्तोलाले भन्नुभयो , ‘गत वर्ष दुबई पठाएको थिइनँ, यसपटक पहिलो हो ।’
चितवनमा तिहारको माला र फूल विदेश निर्यात गर्ने उहाँ नै पहिलो किसान हुनुहुन्छ । ‘तीन वर्षदेखि मैले तिहारको समयमा माला हङकङ पठाइरहेको छु, यसपटक दुबई पनि पठाएँ, अन्य देशबाट पनि माग आइरहेको छ’, किसान बास्तोलाले भन्नुभयो, ‘काठमाडौँ पनि पठाइरहेको छु, चितवनको नारायणगढ, भरतपुर र कालिका नगरपालिकाका विभिन्न ठाउँमा माला र फूल बिक्री भइरहेको छ ।’ उहाँले यतिबेला ४० जना स्थानीयलाई फूल टिप्न, माला बनाउन र बिक्री वितरण गर्नका लागि रोजगार दिनु भएको छ ।
‘मैले पदमपुरमा बाह्रैकाल फुल खेती गरेको छु, तिहारको समयमा जग्गा भाडामा लिएर फुल खेती गरेको छु । तिहारको समयमा फूलको माग बढी हुन्छ, यही समयमा फूल र माला विदेश निर्यात गर्दै आएको छु’, उहाँले भन्नुभयो । ‘गत वर्ष मालाबाहेक सयपत्री फूलको थुँगासमेत दुई क्विन्टल हङ्कङ निर्यात गरेको थिएँ’, उहाँले भन्नुभयो , ‘यसपटक पठाउन सुरु गरियो, तिहारको दिनसम्म कति हुन्छ हेरौँ !’ उहाँले बारीबाटै प्रतिकिलो पाँच सय रुपैयाँमा फूल बेचेका छन् । एउटा फूलको मालालाई भने एक सय रुपैयाँमा बेच्नुभएको छ ।
उहाँले भने, ‘विदेश निर्यात गर्दा पनि यही मूल्य हो, मूल्य तलमाथि गरिएको छैन, विदेशमा पनि खरिद गर्ने त नेपाली समुदाय नै हुन् ।’ उहाँको फूल खेतीको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि अवलोकन गर्नुभएको थियो । उहाँले भन्नुभयो , ‘प्रजिअ सर आएर फूल खेतीको अवलोकन गरेर हौसला दिनुभयो, केही सहयोग चाहिएमा भन्नुहोला भनेर जानुभयो, खुब हौसला मिलेको छ ।’
कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले कालिका नगरपालिकाको फूल विदेश निर्यात हुनु अत्यन्तै खुसी र गर्वको विषय भएको बताउनु भयो । उहाँले भन्नुभयो , ‘एक जना युवा किसान गोविन्द बास्तोलाले गरेको फूल खेतीले यहाँका अन्य किसानलाई पनि हौसला, प्रेरणा थपेको छ ।’
फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाका अनुसार यो वर्ष चितवनमा ४० बिघामा सयपत्री फूलको उत्पादन भएको छ, त्यसबाट लगभग ५ लाख माला बन्न सक्छ । चितवनमा तीन लाख मालाको माग छ, अन्य माला काठमाडौँलगायतका सहरमा जान्छ ।
‘विगतका वर्षहरुमा चितवनमा उत्पादित फूलले यहाँको मागलाई धान्न मुस्किल पर्ने अवस्था थियो, तर अहिले यहाँको माग धानेर पनि विदेशसमेत निर्यात हुन थाल्यो’, उहाँले भन्नुभयो , ‘फूल खेती गर्ने किसानलाई राज्यबाट उपेक्षा हुन भएन ।’ उहाँले एउटा मालाको खुद्रा मूल्य एक सय रुपैयाँ कायम गरिएको बताउनु भयो ।
फ्लोरिकल्चर एसोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठले चितवन फूलमा आत्मनिर्भर भएर पनि बाहिर निर्यात गर्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बजारमा प्लास्टिकजन्य मालाको बिक्री वितरणमा रोक लगाइएको छ, भरतपुर महानगरले बजारबाटै प्लास्टिकजन्य माला जफतसमेत गरेको छ । यसमा हामी खुसी भएका छौँ, स्थानीय फूलले पक्कै बजार पाउँछ भन्ने लागेको छ ।’

