काठमाडौँ। सिंहदरबार जल्दा दमकल नपठाएको आरोप खेपिरहेका बेला काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फेसबुकमा स्पष्टीकरण दिएका छन्।
उनलाई पक्राउको माग गरी एमाले विद्यार्थी संगठनका नेताहरू जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका बेला उनले एउटा भिडिओ नै सार्वजनिक गरी यो प्रस्टीकरण दिएका हुन्।
सिंहदरबार जलेलगत्तै दमकल जाने प्रयास गरे पनि आन्दोलनकारीको अवरोधले गर्दा सम्भव नभएको र सिंहदरबारभित्रै रहेको सेनाको दमकल पनि परिचालित हुन नसकेको उल्लेख गरेका छन्।
उनले आफू कुनै आरोप र जिम्मेवारीबाट नभाग्ने भन्दै अगाडि लेखेका छन्, ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे तापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन। कारण थियो, हुलले दमकललाई काम गर्न नदिएको। जब भिड अलिक शान्त हुनेबित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो।’
उनले लेखेका छन्-
‘यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?’ ‘तीन दिनसम्म जलेको हेरेर बस्यो?’ ‘सिंहदरबार जलाउने नै बालेन शाह हो!’
यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्।
हुन त यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवस्यक जोसुकैले सूचनाको हकको आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दै छु।
गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नुभयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो। एक हिसाबले भनौँ, त्यो बेला ‘राज्य’ नै ठप्प थियो। त्यो दिन देशमा सरकार त थिएन तर स्थानीय सरकार काठमाडौँ महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन। सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र , न प्रहरीले आफ्नो चौकी जोगाउन सके। यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारी साधन आवतजावतको त कुरै छाडौँ। मान्छे समेत हिँडडुल गर्न सक्ने अवस्था थिएन। तर पनि हाम्रो टिम दिनरात नभनी आगो निभाउन, घाइतेहरूको उपचार, कुरुवा र बिरामीको लागि खाना, लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औषधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरूको तथ्यांक संकलन, जलेका गाडीहरूको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा व्यस्त थियो। जिउज्यानको जोखिम मोल्दै फिल्डमा खटिनुहुने सम्पूर्णप्रति सम्मान व्यक्त गर्दछु।
सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे तापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन। कारण थियो, हुलले दमकललाई काम गर्न नदिएको। जब भिड अलिक शान्त हुनेबित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो।
हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।
काठमाडौँ महानगरको न्युरोडमा २ वटा, बालाजुमा २ वटा र रामहिटीमा १ वटा गरी जम्मा ५ वटा दमकल सञ्चालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरी जम्मा ४४ जनाको टिमले ३ सिफ्टमा काम गर्नुहुन्छ। १ सिफ्टमा १ दमकलमा बढीमा ३ जना मात्र जनशक्तिमार्फत दमकल सञ्चालन गरिएको छ। २३ गते केही स्थानमा र २४ गते सिंहदरबार मात्रै होइन, काठमाडौँ मात्रै होइन, सिङ्गो देश जल्दै थियो ।महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
अब कुरा गरौँ, दमकलको।
५/२३ गते दिउँसो १:३० देखि ५ बजेसम्म संसद भवनअगाडि आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटी दमकलले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो। २४ गते बिहानैदेखि कुनै पनि दमकल सञ्चालनमा आउन सकेको थिएन। २४ गते राति ८ देखि १ बजेसम्म विशालबजार जनसेवा प्रहरी वृत्त, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंक बानेश्वरमा न्युरोड दमकलले तथा नयाँ बसपार्कमा बालाजु र रामहिटी दमकलले आगो निभाइरहेको थियो।
२४ गते नै राति ८:१५ देखि ९:४५ सम्म, २५ गते बिहान १:४५ देखि ३:०० बजेसम्म, २६ गते दिउँसो ३:३० देखि ६:५० सम्म र सोही दिन साँझ ५ देखि ६ बजेसम्म सिंहदरबारमा आगो निभाइरहेका थिए। २५ गते दिउँसो १२:२० देखि १:३० सम्म संसद भवन, २५ गते नै दिउँसो ३:३० देखि ४:३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, डिल्लीबजार कारागार लगायतका स्थानमा, २६ गते बिहान ९:२५ देखि १०:१५ सम्म, २७ गते बिहान ८:०० देखि ९:१५ सम्म, सोही दिन साँझ ४ देखि ६ बजे सम्म सर्वोच्च अदालत परिसरमा आगो निभाएको त्यहाँको, महत्त्वपूर्ण कागजहरू बचाएको प्रमाण हामीसँग सुरक्षित नै छ।
त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गतेदेखि २८ गतेसम्म हाम्रो दमकल माथि उल्लिखित र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला अदालत,चुच्चेपाटी भाटभटेनी, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, सहरी विकास विभाग, ग्रान्डी अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एनसेल डाटा सेन्टर, बालाजु प्रहरी वृत्त, स्वयम्भू प्रहरी वृत्त, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वर घरमा, चाक्सीबारी घरमा, बालुवाटार भाटभटेनी गोदाममा, रानीपोखरी प्रहरी, कोटेश्वर भाटभटेनी, गुणस्तर विभाग, भाटभटेनी नक्साल मन्दिर पछाडि फर्निचर, सडक विभाग लगायतका स्थानमा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ। जसको विस्तृत विवरण यहीँ राखेको छु। सँगसँगै हिल्टन होटल, बनबासा होटल लगायतबाट सेनासमेतको सहकार्यमा उद्धार कार्य गरिएको थियो।
अब कुरा गरौँ, स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरूको लास व्यवस्थापनको।
संघीय सरकारले घोषणा गर्नुपूर्व नै महानगरभित्रका सम्पूर्ण अस्पताललाई निःशुल्क उपचारको लागि समन्वय,अस्पतालको लागि आवश्यक औषधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन, बिरामी तथा बिरामी कुरुवाहरूको लागि निःशुल्क खाजा/खाना, अन्य आवश्यक लजिस्टिक,सुत्नको लागि म्याटलगायत अन्य सामग्रीको व्यवस्थापनमा महानगरको सचिवालय,नगर प्रहरी, स्वास्थ्यकर्मी लगायतको टिम रातदिन खटिएको थियो।
उपचारको लागि अभिभावक नभएका सम्पूर्ण बिरामीहरूको अभिभावक हाम्रो टिम बनेको थियो। यतिसम्म कि, अपरेसन गर्दा फाराममा समेत हाम्रो नगर प्रहरीले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ। लास व्यवस्थापनको लागि परिवारलाई आउने-जाने, खानेबस्ने व्यवस्थापन पनि महानगरले गरेको थियो। यतिसम्म कि नेपाली सेनालगायत अन्यको सहकार्यमा लासलाई घरसम्मै लैजाने व्यवस्थासमेत गरेका थियौँ।
अन्त्यमा,
प्रिय आमाबुवा,दाजुभाइ, दिदीबहिनी, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिनातथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरूसँग सावधान रहनुहोला। यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिनरात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउँछ।
मिडियाका मित्रहरूमा विशेष अनुरोध, कृपया सत्यतथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।
हामी महानगरको टिम दिनरात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौँ। मलाई यसको कुनै जस चाहिएको छैन। कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाई त सम्मानजनक दृष्टिले हेर्नुहोस्। जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालीन व्यवस्थापनका लागि हामी सधैँ खटिरहनेछौँ।
सत्य बुझौँ, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।
अन्त्यमा, देशलाई एकता र साँचो कुराको खाँचो छ। हल्ला र झुटको हैन।

