चितवन। चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जमा जिप सफारी सुरु गरेको छ।
वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरु बिग्रिने, जङ्गलमा भएका ससाना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार आजदेखि जिप सफारीका लागि अनुमति दिइएको हो। गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरी जिप सफारी सुरु गरिएको हो ।
गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याइएको हो। गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरु गरेको थियो। गएको असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको थियो।
निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन भएका छन्। यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्न लागेको हो।

