चितवन । चितवनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रदर्शनकारीको ज्यान जोगाउँदा भौतिक संरचनामा ठूलो क्षति भएको बताएका छन् । सोमबार पत्रकारहरुसँग संवाद गर्दै अर्यालले मानव जीवन अमूल्य हुने भएकाले ठूलो बल प्रयोग नगर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको बताए ।
‘प्रदर्शनका क्रममा हामीसँग दुई वटा विकल्प थिए । ठूलो बल प्रयोग गरेर रोक्ने वा प्रदर्शनकारीको ज्यान जोगाउने’, उनले भने, ‘सम्पत्ति त भोलि हामीले जोड्न सकौँला । मानविय क्षति भयो भने चाँहि अपुरणीय क्षति हुन्छ । त्यो हुन दिनुहुन्न भनेर हामीले दोस्रो विकल्प रोजेका हौँ ।’ प्रदर्शनकारीको ज्यान जोगाउँदा अकल्पनिय क्षति हुन पुगेको उनले बताए ।
जेनजी प्रदर्शनका क्रममा ९८ वटा घर तथा भवनमा क्षति भएको छ । प्रदर्शनकारीले ७९ वटा सार्वजनिक भवन, १६ वटा नीजि र तीन वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको अर्यालले जानकारी दिए । जिल्लामा भएको क्षतिको मूल्यांकन गरी यो हप्ताभित्र श्वेतपत्र जारी गर्ने योजना रहेको उनले बताए ।
सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै लैजान सबै स्थानीय तह र सरकारी कार्यालयबीच समन्वय भइरहेको उनले बताए । प्रशासन कार्यालयले नागरिकता र नागरिकताको प्रतिलिपि वितरण, म्याद थप लगायत प्रशासनिय सेवा दिन तयार भएको उनले जानकारी दिए । राहदानी र राष्ट्रिय परिचप पत्र वितरणको सेवा सुरु गर्न भने केहि समय लाग्ने उनी बताउँछन् ।

