चितवन । जितीया आउनुअघि नै दश दिन अगाडी चितवनका थारु समुदायमा चहलपहल र रमझम हुन्छ । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितीयाको विशेष उल्लास छ । थारु समुदायका महिलाहरु झाम्टा नाच नाच्दै गाउँदै जितीया मनाईरहेकाछन् ।
यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमीमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, (दर खाने) अष्टमीको दिनलाई ‘उपास’ (ब्रत) र नवमीको दिनलाई ‘पारन’ (ब्रत समाप्त) भनिन्छ ।
आज (सोमबार) सप्तमीको दिन महिलाहरू बिहानै नुहाईधुवाई गरी सफा र चोखो कपडा लगाई बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु झाम्टा र गीत गाउँदै यो पर्व मनाइरहेका छन् । थारु समुदायका महिलाले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । जितियामा सामूहिक नाचगान र पूजा हुन्छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्याउने चलन पनि छ ।
अष्टमीको दिनमा महिलाहरू बिहानै नुहाईधुवाई गरी सफा र चोखो कपडा लगाई दिनभर पानी पनि नखाई निराहर ‘उपास’ ब्रत बस्ने गर्दछन् । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ। रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् ।
बिगतका वर्षहरुमा गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँथे । कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’ गर्थे । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुहरुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन् । तर खानुभन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दु धर्मालम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्त्वका साथ मनाउने गरेका छन् ।
थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढिहरुलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीहरुलाई जानकारी दिने गरेका छन् । पछिल्लो समय जितिया पर्व सुरु हुनुपूर्व नै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुने गरेका छन् । चितवनको समथर भूभागमा झन्डै एक लाख ३० हजार हाराहारीमा थारु समुदायको बसोबास छ ।
तराईमा बसोबास गर्ने थारु जातिका महिलासँगै मधेसी, मैथिली जातिले पनि जितिया पर्व मनाउने गर्छन् ।
यस्तै, थारु समुदायले दिवङ्गत पितृको सम्झनामा असोज महिनाको ५ गते ‘एमोसा’ (पितृ औँसी) मनाउँदैछन् । यसमा समूह बनाई एकअर्काको घरमा खाना खाने प्रचलन छ ।

