चितवन । रत्ननगर नगरपालिका वडा नं. १५ मा सुत्केरी र गर्भवती महिलालाई कुखुराको भाले सहित पौष्टिक आहार वितरण गरिएको छ ।
वडा कार्यालयको बजेटबाट १० जना सुत्केरी र ६ जना गर्भवती गरी १६ जनालाई कुखुराको भाले, २ किलो नौनी घ्यू, एक क्रेट अण्डा, १ किलो मह, मुङको दाल, चना तथा व्यक्तिगत सरसफाइका सामग्री प्रदान गरिएको हो । आइतबार वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा वडाध्यक्ष आशिक तामाङले सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार हस्तान्तरण गरेका थिए ।
सो अबसरमा वडाध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत सुत्केरी आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पौष्टिक आहार वितरण गरिएको बताए । स्थानीय किसानले उत्पादन गरेका कुखुरा, अण्डा, नौनी घ्यूलगायत सामग्री खरिद गरी वितरण गरिएको जानकारी उनले दिए । आमा र बच्चा दुबैको स्वास्थ्य सुरक्षाका लागि हामीले विगत तीन बर्षदेखि पौष्टिक आहार वितरण गर्दै आएका छौं यो कार्य माधवपुरका सुनौलो भविश्य निर्माणको लागि गरेका हौं ।
सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको जिम्मेवारी रहेको भन्दै वडाध्यक्ष तामाङले पूर्वाधार निर्माण मात्र विकास नभइ नागरिकको स्वास्थ्य र सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनले माधवपुरवासीको सुखदुखमा वडा कार्यालय सधैं साथमा रहेको सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए । वडाले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहारसँगै भ्याक्सिन, भिडियो एक्स–रे लगायतका आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीले तीन बर्षको अबधिमा १५५ जना सुत्केरी र गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिएको जानकारी दिइन् । कार्यक्रममा वडा सदस्यहरू शिव तिवारी, ईमप्रसाद पन्त, लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी, स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थिति थियो । वडा सदस्य रुकमाया परियारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीले गरेकी थिइन् ।

