काठमाडौँ। रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्न प्रतिस्पर्धामा रहेका ९ जना प्रारम्भिक उम्मेदवार आज सभापति रवि लामिछाने भेट्न ललितपुरस्थित नक्खु कारागार जाने भएका छन्।
लामिछानेनिकट प्रमाेद न्याैपानेले दिएको जानकारीअनुसार उनीहरू अहिले बिहान ११ बजे सभापतिसँग भेटवार्ता गर्न नक्खु कारागार पुग्ने भएका हुन्। सहकारी ठगी मुद्दामा रास्वपा सभापति लामिछाने नक्खु कारागारमा छन्।
रास्वपाबाट पार्थिवेन्द्र उपाध्याय, उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (जेबी), कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्याल उपनिर्वाचनमा उम्मेदवार बन्ने प्रतिस्पर्धामा छन्।
आज दिउँसो बस्ने सचिवालय बैठकपछि रास्वपाले उम्मेदवार घोषणा गर्ने प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। त्यसअघि उम्मेदवारका आकांक्षी ९ जना सभापति लामिछाने भेट्न नक्खु कारागार पुग्ने भएका हुन्।
उम्मेदवार छनोटका लागि रास्वपाको निर्वाचन आयोगले साउन ७ देखि २१ गतेसम्मको समय तोकेर आवेदन आह्वान गरेको थियो। आवेदन दिएकामध्ये रास्वपाले प्रारम्भिक सूचीका रूपमा साउन २२ गते ९ जनाको नाम सार्वजनिक गरेको थियो।
प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उपनिर्वाचन हुँदै छ।२०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ।
त्यसमा राजनीतिक दलहरूले धमाधम आफ्ना उम्मेदवार चयन गरिरहेका छन्।सत्तारुढ नेकपा एमालेले भने खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

