चितवन । सौराहामा मादक पदार्थ सेवन गरेर युवकलाई रड प्रहार गर्ने प्रहरीका वरिष्ठ हवल्दारमाथि कारबाही प्रक्रिया अघि बढेको छ । स्थानीय चित्रसारी चौकीमा कार्यरत वरिष्ठ हवल्दार जीवन महतले भदौ ९ मा राति मोटरसाइकलमा आएका युवकलाई रोकेर रड प्रहार गरेका हुन् ।
उनले रड प्रहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । कार्यालयबाट आउट निस्केका महतोले मापसे गरेर सडकमा युवकलाई आक्रमण गरेका हुन् । उनलाई विभागीय कारबाही अघि बढाइएको चितवनका एसपी गोविन्द पुरीले बताए ।
साइकलमा सवार व्यक्तिहरूलाई चेकजाँच गर्न खोज्दा हवल्दारलाई त्यसअघि अरू ३ जनाले आक्रमण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । वरिष्ठ हवल्दारलाई आक्रमण गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको एसपी गिरीले बताए ।
पक्राउ पर्नेमा कालिका नगरपालिका–४ घर भएका छट्टु चौधरी, निर्मल चौधरी र रत्ननगर नगरपालिका–८ घर भएका सुमित चौधरी छन् । उनीहरु विरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
महतोलाई आक्रमण गरेर ३ जना फरार भए । आफूमाथि आक्रमण गर्नेहरूलाई खोज्दै गएका हवल्दारले त्यसपछि मोटरसाइकलमा आएका युवकलाई रोकेर रड प्रहार गरेका हुन् । हवल्दारको आक्रमणमा घाइते भएका युवकको उपचार भइरहेको छ ।
आक्रमण पछि हवल्दार महतोले ‘मलाई मार्या, म ढलेँ’ भनेर फोनमा कसैलाई बोलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

