काठमाडौं। धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरोले अवरुद्ध काठमाडौं-मुग्लिन सडक खुलेको छ । बुधवार राति खसेको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर बिहान साढे ७ बजेतिर खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिए ।
उनका अनुसार अहिले पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भैरहेको छ । यसअघि पहिरोले सडक बन्द भएपछि काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधन खानीखोलामा रोकिएका थिए । यता, काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग भने अवरुद्ध छ । रोशी गाउँपालिका–९ स्थित बिरुवा डाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा लेदो सहितको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

