गोरखा । गण्डकी गाउँपालिका–६ हिक्लुङ र थुम्काका चेपाङ समुदायका किसानको उत्पादनलाई बजारसम्म पु¥याउनका लागि गाउँपालिकाले रोपवे निर्माण गरेको छ । गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग साझेदारी गरी विद्युतीय रोपवे निर्माण गरेको गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
चेपाङ समुदायको मात्र बसोबास भएको हिक्लुङ र थुम्काबाट पृथ्वीराजमार्गको हिक्लुङघाटसम्म रोपवे निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो । “यहाँका चेपाङ समुदाय असाध्यै मेहेनती छन् । उनीहरू विगत २०५० सालदेखि नै व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनीहरूले बारीमा उत्पादन भएको मौसमी, बेमौसमी तरकारी डोकोमा बोकेर हाइवेसम्म झार्ने गरेका छन्”, गाउँपालिका प्रमुख तिमिल्सिनाले भन्नुभयो, “गाउँमा सडक निर्माण गर्न प्रयास गरेको हो तर, भिरालो जमिन भएकाले यहाँसम्म सडक निर्माण गर्न धेरै कठिन भयो । गाउँ पनि जोखिम हुने भयो । त्यसैले यो नै सबैभन्दा उत्तम विकल्प भन्ने ठानेर रोपवे बनाउन थालेका हौँ ।” रोपवेमा तरकारी ढुवानी गर्न पाएमा चेपाङ किसानलाई ठूलो राहत हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
लागत साझेदारी कार्यक्रमअन्तर्गत रु एक करोड लागतमा रोपवे निर्माण गर्न लागिएको हो । गाउँपालिकाको ६० प्रतिशत र प्रदेश सरकारको ४० प्रतिशत लागत साझेदारीमा काम भइरहेको गाउँपालिकाका प्राविधिक शाखाका ओम शाहले भन्नुभयो, “असोजभित्र निर्माण गरिसक्ने हाम्रो लक्ष्य हो, काम धमाधम भइरहेको छ”, अब तार टाँग्ने काम मात्र बाँकी रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सो रोपवेको लम्बाइ छ सय ३० मिटर रहेको छ । चितवनको जिटी मेसिन प्रालि कम्पनीले रोपवेको निर्माण गरिरहेको प्राविधिक शाखाका शाहले जानकारी दिनुभयो । विगत ३० वर्षदेखि यहाँका चेपाङ किसान तरकारी खेतीतर्फ उन्मुख छन् । उनीहरूको उत्पादनलाई बजारसम्म पुर्याउन यसअघि यहाँ २०६८ सालमा ग्राभिटी रोपवे निर्माण गरिएको थियो । सो प्रविधि बिग्रिएपछि अहिले विद्युत्बाट चल्ने रोपवे निर्माण गर्न लागिएको वडा नं ७ का अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो ।

