नवलपुर। नवलपुरको कावासोती –१५ मा रहेको गुन्द्रही ढकाहा सामुदायिक वनमा पोथी गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
थापाका अनुसार उक्त गैँडा बूढो र बिरामी थियो । सोमबार साँझ पानी पिउन निस्किएको गैँडा मङ्गलबार बिहान मृत फेला परेको थापाले जानकारी दिए । गैँडा पानी पिएपछि धापमा भासिएर निस्कन नसकेको निकुञ्जका कर्मचारीले जनाएका छन् ।
निकुञ्ज कर्मचारी र सामुदायिक वनको टोलीले गैँडालाई निस्कन सहज होस् भनेर बाटो बनाइदिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए ।
त्यहाँबाट निस्किएर केही अगाडि गएपछि गैँडा मृत अवस्थामा भेटिएको थियो । बूढो भैसकेको गैँडाको अगाडिको खुट्टामा समस्या थियो । गैँडाको खाग र खुर सुरक्षित रहेको सूचना अधिकारी थापाले जानकारी दिए ।

