चितवन । चितवनको खैरहनीमा विभिन्न खेलहरू खेल्न मिल्ने गरी कबर्ड करिब दुई करोडको लागतमा हल निर्माण सुरु गरिएको छ । खैरहनी नगरपालिका–६ स्थित जमौलीमा कबर्ड हल बनाउन लागिएको हो ।
एक करोड ९६ लाखको लागतमा निर्माण हुन लागेको कबर्ड हल चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको नगरप्रमुख शशिकुमार खनियाले जानकारी दिनुभयो । पाराफिटसहित आधुनिक सुविधा सम्पन्न कबर्ड हलमा तेक्वान्दो, भलिबल, ब्याडमिन्टन लगायतको विभिन्न खेल खेल्न मिल्ने उहाँले बताउनुभयो ।
कबर्ड हल निर्माणपछि खेलाडीहरूलाई खेल खेल्न, खेल सिक्न वातावरण सहज हुने र नगरको एउटा गहनाको थप हुने विश्वास व्यक्त गर्नुभयो । ५ सय ७ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने कबर्ड हलमा दुई वटा ठुलो हल हुने खैरहनी नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर कृष्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
दर्शक बस्न मिल्ने पाराफिट, कार्यक्रम सञ्चालक गर्न मञ्च, खेलाडीलाई चेन्जिङ कोठा लगायत सबै सेवासहितको सुविधा सम्पन्न कबर्ड हल निर्माण हुने उपाध्यायले बताउनुभयो ।

