नवलपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–८ पुलवारिमा सवारी दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ ट्रक र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ३५ वर्षीय राजकुमार बोहोराको मृत्यु भएको हो।
बोहोरा ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
सोही दुर्घटनामा परी ३२ वर्षीय जितबहादुर महतो गम्भीर घाइते भएका छन्। महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुर दरबन्दी रही हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेका प्रहरी नायब उपरीक्षक नेपालले बताए।
बाप्र ०६–००१ क ०४४४ नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ७६ प २७१७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
प्रहरीका अनुसार दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा बोहोराको उपचारका क्रममा मृत्यु भएको र जितबहादुरलाई थप उपचारका लागि चितवन लगिएको छ।

