चितवन । चितवनको खैरहनी नापी कार्यालयका प्रमुख इन्जिनियर शालिग्राम लम्सालमाथि कार्यालयमै सांघातिक आक्रमण तथा दुरव्यवहार भएको घटनामा एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स, चितवन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयको नियमित कार्यसम्पादन भइरहेकै समयमा सेवाग्राहीको रुपमा प्रवेश गरी आक्रमण, धम्की दिने र मोटो रकम चन्दा माग गर्ने जस्ता गैरकानुनी कार्यहरू भइरहेको उल्लेख गरेको छ ।
यद्यपि राज्यका सरोकारवाला निकायहरूले पर्याप्त संवेदनशीलता वा सक्रियता देखाएको महसुस नभएको विज्ञप्तिमा उल्लेख छ।
एसोसिएसनका अध्यक्ष ई. बिष्णु अधिकारीले घटनामा संलग्न व्यक्ति वा व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न र कार्यालयमा भयमुक्त वातावरण कायम गर्न सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारसँग जोडदार माग गरेका छन् । लम्सालमाथि साउन २७ गते आक्रमण भएको थियो ।


