चितवन । धानखेतमा गैंडा मरेको घटनामा पक्राउ परेका माडीका किसान हरिभक्त श्रेष्ठको रिहाईको पहलका लागि माडीको एक प्रतिनिधिमण्डलले निकुञ्जका वार्डेनसंग भेटवार्ता गरेको छ ।
चितवन क्षेत्र नं. ३(ख)का प्रदेश सांसद ठाकुर प्रसाद ढकाल र माडी नगरप्रमुख ताराकुमारी काजी महतो सहित माडीका राजनैतिक दलका प्रतिनिधिहरुले निकुञ्ज मुख्यालय कसरामा वार्डेन डा. गणेश पन्तसंग सो भेट गरेका हुन् ।
भेटका क्रममा माडीको प्रतिनिधिमण्डलले कृषक श्रेष्ठको बिनासर्त रिहाईको माग गरेको थियो । त्यस्तै निकुञ्जको सबैतिर सोलार फेन्स मर्मत वा नयाँ जडान गर्नुपर्ने समेत माग रहेको थियो । जवाफमा वार्डेन डा. पन्तले मुद्दा प्रक्रियामा मिलेसम्म सहजिकरण गर्ने साथै सोलार फेन्स जडान वा मर्मत कार्य पुरा गर्ने बताउनुभएको प्रतिनिधिमण्डलका सदस्य श्रीप्रसाद दवाडीले जानकारी दिए ।
यसअघि, गत श्रावण २१ गते बुधबारका दिन माडीको भैरवपुरस्थित धान खेतमा गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सो धान खेतका कृषक श्रेष्ठलाई पक्राउ गरेको थियो । हाल जिल्ला अदालत चितवनबाट म्याद थप लिएर निकुञ्ज प्रशासनले घटनाको अनुसन्धान गरिरहेको छ ।स्वदेश एफएमको सहयोगमा

